अर्थविद्हरू भन्छन्- अर्थतन्त्रलाई चलायमान बनाउन पूरक बजेट आवश्यक छ

अर्थविद्हरूले पूरक बजेट ल्याएर शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका छन् । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै अर्थविज्ञहरूले वर्तमान सरकारले चलायमान अर्थतन्त्र बनाउनका लागि औचित्य पुष्टि हुने गरी तत्काल पूरक बजेट ल्याउन आवश्यक रहेको सुझाव दिएका हुन् ।

उनीहरूले पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको अभाव तथा ब्याजदर उच्च वृद्धि भएकाले बजारमा तरलता सहज बनाउनको लागि पूरक बजेट जरुरी रहेको औंल्याए । अर्थविद्हरूले सरकारले ल्याएका नीतिगत प्राथमिकता र साझा न्युनतम कार्यक्रम प्रभावकारी कार्यान्यनकोे लागि भए पनि पूरक बजेट आवश्यक रहेको बताए । उनीहरूले अहिलेको बजेटमा सरकारका साझा न्युनतम कार्यक्रम समावेश नभएको भन्दै साझा कार्यक्रम कार्यान्वयन गर्ने गरी पूरक बजेट आवश्यक रहेको बताए । उनीहरूले सरकारले बजारमा लगानीयोग्य रकम सहज बनाउन र अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेटलाई मध्यावधिक समीक्षामार्फत आर्थिक वृद्धिदर, मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्नुपर्ने बताए । उनीहरूले सरकारले पूरक बजेट ल्याएर पुँजीगत खर्च बढाएर तीव्ररूपमा काम गर्नसके आर्थिक वृद्धिको लक्ष्य भेट्टाउनसक्ने बताए ।

अर्थविद् डा. डिल्लीराज खनालले अहिलको बजेटमा राखिएको राजस्व संकलनको लक्ष्य समेत भेट्टाउन मुस्किल रहेकाले सरकारले पूरक बजेट ल्याउन आवश्यक रहेको बताए । उनले सरकारले पूरक बजेटको नाममा जथाभावी, मनपरी ढंगले अर्को बेथिति निम्त्याउने र वित्तीय अराजकता सिर्जना गरेर थप समस्या बढ्न नदिने गरी अहिलेकै बजेट भित्र पुनःसंरचना गरेर पूरक बजेट ल्याउन आवश्यक रहेको बताए । उनले सरकारले ल्याएको नीतिगत प्राथमिकता र साझा कार्यक्रम कार्यान्वयन गर्ने गरी पूरक बजेट ल्याउँदा मात्रै औचित्य पुष्टि गर्ने बताए । डा.खनालले बजेटमा राखिएको राजस्व संकलन लक्ष्य अनुसार २ खर्ब बढीले राजस्व भेटिन नसक्ने आकलन रहेको बताए । उनले खर्च कटौती गर्न पनि पूरक बजेट आवश्यक रहेको बताए ।

उनले वर्तमान सरकारले कानूनको शासन र त्यसभित्र सुशासन कायम गरी अहिलको बेथिति, विकृति, भ्रष्टाचारलाई ‘ब्रेक थ्रू’ गर्ने गरी सुशासनको परिपाटीलाई चुस्तदुरुस्त गर्ने गरी जानुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले सरकारले बजारमा लगानीयोग्य रकम बजारमा पठाउन अर्थमन्त्रीले पूरक बजेट ल्याउनुपर्ने बताए । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले सरकारले पूरक बजेट नल्याए मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने बताए । उनले वर्तमान सरकारले जसरी भए पनि बजारमा पैसा पठाउने काम गर्नुपर्ने देखिएकाले पूरक बजेट ल्याउन आवश्यक रहेको बताए ।

उनले वर्तमान सरकारले पछिल्लो समय अर्थतन्त्र र उद्योगी व्यवसायीहरूका समस्या समाधान गर्न मागहरू सुनेको देखिएको बताए । उनले अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेटलाई मध्यावधिक समीक्षा गरेर आर्थिक वृद्धिदर, मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्न आवश्यक रहेको औंल्याए । डा. नेपालले वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा ८ प्रतिशत आर्थिक वृद्धि हुने र मुद्रास्फिति लक्ष्यअनुसार कायम राख्ने अवस्था नदेखिएको बताए ।

उनले अहिले सरकारले अर्थतन्त्रलाई जबरजस्ती दबाएर राखेको भन्दै बजारमा लगानीयोग्य रकम नभएर व्यवसायीले चाहेर पनि लगानी गर्न नसकेको बताए । उनले राष्ट्र बैंकले क्षमता अनुसार बजारमा लगानीयोग्य रकम पठाउने उपाय गरे पनि अपुग भएकाले सरकार सक्रिय हुन आवश्यक रहेको बताए । उनले सरकारले अनौपचारिक रूपमा हुने खर्च वृद्धि गर्न दिन नहुने बताए । उनले औपचारिक क्षेत्रमा पैसा नहुनु र अनौपचारिक क्षेत्रमा भएको पैसा बजारमा चलायमान हुनाले अनौपचारिक क्षेत्र खर्च बढ्दै गएको बताए ।

उनले सरकारले अनौपचारिक खर्च रोक्नको लागि भए पनि पूरक बजेट ल्याएर औपचारिक क्षेत्रमा पैसा पठाएर नयाँ परियोजना, कार्यक्रम र निजी क्षेत्रको समस्या समाधान गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘अघिल्लो सरकारभन्दा नयाँ सरकार गठन भएसँगै मुलुकको अर्थतन्त्र र उद्योगी व्यवसायीहरूमा केही गर्न खोजेको देखिएको छ । ७ वटा पार्टी मिलेर बनेको सरकारको साझा कार्यक्रम ल्याएको छ । साझा कार्यक्रममा धेरै नीतिगत विषयहरू फरक पर्छ । सरकारमा गएकाहरू कोही खुला अर्थतन्त्रमा विश्वास गर्छन् । कोही समाजवादी, साम्यवादी अर्थतन्त्र भन्नेहरू रहेका छन् । सबैको विचारलाई मिक्स गरेर सरकारले अवतरण गराउँछ हेर्न बाँकी रहेको छ तर वर्तमान सरकारले उद्योगी व्यवसायीहरूका मागहरू सुनेको देखिन्छ । सरकारले जसरी सकिन्छ बजारमा पैसा पठाउने काम गर्नुपर्छ । सरकारले बजारमा लगानीयोग्य रकम बजारमा पठाउन अर्थमन्त्रीले पूरक बजेट ल्याउनुपर्छ । अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेटलाई मध्यावधिक समीक्षा गरेर आर्थिक वृद्धिदर, मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्नुपर्छ । वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा ८ प्रतिशत आर्थिक वृद्धि हुने अवस्था छैन । मुद्रास्फीति लक्ष्यअनुसार कायम राख्ने अवस्था छैन । अहिले सरकारले अर्थतन्त्रलाई जबरजस्ती दबाएर राखेको छ । बजारमा लगानीयोग्य रकम नभएर मान्छेले चाहेर पनि लगानी गर्न पाएको छैन । सरकारले बजारमा लगानीयोग्य रकम आउने उपाय गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले क्षमता अनुसार गरिरहेको छ । त्यसैले सरकारले बजारमा पैसा पठाउनको लागि पूरक बजेट ल्याउनैपर्छ । सरकारले पूरक बजेट ल्याएन भने मुलुकको अर्थतन्त्र चलायमान बनाएर अगाडि जान गाह्रो हुन्छ । सरकारले अनौपचारिक रूपमा हुने खर्च बढ्न दिनुभएन । बजारमा पैसा छैन तर कामहरू भइरहेको छ । औपचारिक क्षेत्रमा पैसा नहुनु र अनौपचारिक क्षेत्रमा भएको पैसा बजारमा चलायमान हुनाले अनौपचारिक क्षेत्र बढ्दै गएको छ । त्यसलाई बढ्न नदिनलाई रोक्नुपर्छ । त्यसको लागि भएपनि पूरक बजेट ल्याएर औपचारिक क्षेत्रमा पैसा पठाएर नयाँ परियोजना, कार्यक्रम र निजी क्षेत्रलाई सहयोग हुनसक्छ ।’

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान सरकारको अर्थतन्त्रलाई चलायमान बनाउने मौका चुकाउन नहुने बताए । उनले वर्तमान सरकार सबै राजनीतिक पार्टीको साथ रहेकाले प्रधानमन्त्रीले समेत अर्थतन्त्र बलियो बनाउने काममा बढी केन्द्रित हुन आवश्यक रहेको बताए । पूर्व गभर्नर क्षेत्रीले अघिल्लो सरकार हुँदासँग मुलुकको अर्थतन्त्र बिग्रियो, भत्किहाल्यो भन्ने गरिए पनि वर्तमान सरकार आएसँगै अर्थतन्त्रमा केही सकारात्मक सुधार देखिएको बताए । डा. नेपालले ८ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने देखिएको बताए पनि क्षेत्रीले भने सरकारले तीव्ररूपमा काम गर्नसके ८ प्रतिशत आर्थिक वृद्धि हुनसक्ने आकलन गरे ।

उनले पछिल्लो समय अर्थतन्त्रका मुख्य सूचक रेमिट्यान्स बढ्ने, व्यापार घाटा कम हुने र विदेशी मुद्रा सञ्चितीमा सुधार भएको बताए ।

पूर्व गभर्नर क्षेत्रीले सरकारले भ्रष्टाचार न्युनीकरणका निम्ति शून्य सहनशीलताको नीति लिएर अगाडि बढ्न आवश्यक रहेको बताए । उनले सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गरी पुँजीगत खर्च बढाउने गरी ‘ट्यास’ फोर्स नै बनाएर सरकार अगाडि बढ्नुपर्ने उल्लेख गरे तर अर्थमन्त्री विष्णुप्रसाद पौडेल पूरक बजेट ल्याउने पक्षमा देखिएका छैनन् । उनले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने दाबी गर्दै बजेट समीक्षामार्फत चालू खर्च अझै घटाइने संकेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *