हिउँदे अधिवेशन अझै डेढ महिना चल्ने, २० वटा विधेयक पास गर्ने सरकारको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय दलका प्रमुख सचेतकसँग छलफल गरेका छन्। सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरूसँग संसदका गतिविधिहरूलाई चलयामान बनाउने कुरामा छलफल गरेका हुन्।

उनले छलफलका क्रममा संसदमा कस्तो बिजनेस लैजाने र यो अधिवेशनमा कतिवटा विधेयकहरू संसदबाट पास गर्ने भन्नेबारे प्रमुख सचेतकबाट सुझाव लिएका हुन्।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले छलफलमा प्रधानमन्त्री दाहालले संसदको बिजनेस कसरी अघि बढाउने र यो सत्रमा कस्ता विधेयक लैजाने भन्नेबारेमा छलफल भएको बताए।

उनले संसद् अहिले प्रभावकारी नबनेको भन्दै संसद भाषणको रमिता देखाउने कुरामै सीमित रहेको बताए। उनले आफूले नागरिकता ऐन, संघीय कर्मचारी ऐनजस्ता विधेयकलाई संसदको बिजनेस बनाइनुपर्ने कुरा अघि सारेको बताए।

हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यसबीचमा करिब २० वटा विधेयक संसदबाट पास गर्ने प्रतिबद्धता प्रधानमन्त्री दाहालले जनाउनुभएको बताए।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा प्रधानमन्त्रीले सदनलाई कसरी व्यवस्थित गर्ने, यसका साथै विधेयकलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यकतासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउने ? लगायतका अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गरेको बताए।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद् सुचारु भए पनि संसदले गर्ने कार्य सुखद नभएको भन्दै प्रधानमन्त्रीले आज बैठक बोलाएको बताए।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले संसदले बिजनेस नपाएको र संसदमा विधेयकहरु अघि नबढिरहेको सन्दर्भमा प्रधानमन्त्रीले दलका प्रमुख सचेतकसँग सुझाव लिएकाे बताए।

उनले सहज रूपमा सरकारले संसदमा विधेयक पेस गर्नका लागि के–कस्ता अप्ठ्याराहरू छन् र कसरी बाधा फुकाउने भन्ने कुरामा छलफल भएको बताए।

प्रमुख सचेतक ज्वालाले अहिले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले काम गरिरहेको र संसदीय समितिहरू नबन्दा सरकारले संसदमा विधेयकहरू पेस गर्दा अप्ठ्यारो हुने कुराबारे पनि छलफल भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर