पर्दाफास टिप्पणी

रवि लामिछानेले उठाएका र उनीसँग जवाफ खोजिरहेका प्रश्नहरु

नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको र यसका सभापति रवि लामिछानेले आइतबार विशेष पत्रकार सम्मेलनमा बोलेका विषयले यतिबेला आम जनमानसमा चर्चा पाएको छ । सरकारमा सहभागी भएको १ महिनाभन्दा केही बढी अवधिमा नै उक्त दल बाहिरिएको हो ।

तर, रास्वपा सरकारमा किन सहभागी भयो र किन बाहिरियो भन्ने विषय भन्दा पनि यसका सभापति लामिछानेले पत्रकार सम्मेलनबाट सञ्चारमाध्यम, प्रकाशक तथा सम्पादकमाथि खोलेको ‘फायर’ अहिले चर्चाको विषय छ । विशेषगरी आफ्नो नागरिकता र राहदानीको विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति लामिछानेले आक्रोशपूर्ण अभिव्यक्ति दिएका हुन् ।

पत्रकारिता पृष्ठभूमिबाटै नेता बनेका भए पनि सञ्चारमाध्यमप्रति लामिछानेको आइतबारको प्रस्तुति भने विगतमा जस्तै असंयमित र अराजक थियो । एउटा राष्ट्रिय पार्टीको सभापति जस्तो गरिमामय पदधारण गरेका लामिछानेको सञ्चारमाध्यमप्रतिको टिप्पणी असहिष्णु खालको थियो ।

उनी आफ्नो कमजोरीलाई स्विकार्नेभन्दा पनि त्यसलाई सञ्चारमाध्यममा उठान गरिएकोमा आक्रोश पोख्ने मुडमा थिए, जसलाई उनले आफ्नो सम्बोधनको क्रममा स्विकार गरेका पनि छन् । जब कि पुराना नेताप्रतिको वितृष्णा र नयाँ नेतृत्वप्रति आशाको मत पाएर संसद पुगेका लामिछानेले उच्च राजनीतिक संस्कार देखाउने यो ठूलो मौका थियो, जसलाई उनले फेरि गुमाएका छन् ।

लामिछानेले नेता भएर तिनै गतिविधि र प्रवृत्तिलाई निरन्तरता दिए, जसलाई उनी कार्यक्रम प्रस्तोता हुँदा तीव्र आलोचना गर्थे । विगतमा गैरसांसदलाई मन्त्री बनाएकोमा आपत्ति व्यक्त गर्ने लामिछाने सर्वोच्च अदालतको आदेशबाट सांसद पद खारेज भए पनि पनि पुनः गृहमन्त्री बन्ने लबिइङमा थिए ।

तर, गृहमन्त्री नपाउने निश्चित भएपछि उनले पार्टी नै सरकारबाट बाहिरिने निर्णय मात्र गरेनन्, आफ्नो बारेमा लेख्ने सञ्चारमाध्यमलाई अराजक शैलीमा आलोचना गरे । कानुनभन्दा माथि गएर मिडिया गृहलाई घेर्ने र कारबाही गर्ने धम्की थिए, जुन एउटा गृहमन्त्री भइसकेको नेताको लागि अशोभनीय थियो ।

अमेरिकी नागरिकता नत्याग्दै नेपालको पुरानो नागरिकता प्रयोग गरेका लामिछानेले त्यही नागरिकताबाट नेपालको राहदानी पनि लिएका थिए । त्यति बेलासम्म उनले अमेरिका नागरिकता र राहदानी त्यागेका थिएनन्, जसलाई लामिछाने स्वयंले पनि स्वीकारेका छन् । नेपालको संवैधानिक प्रावधानअनुसार यसरी दोहोरो राहदानी लिनु कानुनी रुपमा कसुरदार काम हो ।

तर, लामिछानेको जिकिर भने त्यसरी दोहोरो राहदानी लिएको तर त्यसको दुरुपयोग नगरेको भन्ने छ । जब कि दोहोरो राहदानी लिनु नै कानुनको उल्लंघन हो । तर, लामिछाने भने आफ्नो गल्तीलाई मान्न तयार देखिएनन् मात्रै होइन, अरुलाई कारबाही नगरी आफूलाई मात्र किन कारबाही भयो भन्ने प्रश्नतर्फ लागेका छन् ।

यसको अर्थ बदमासी गर्ने अरुलाई कारबाही नहुने मैले बदमासी गर्दा किन सजाय पाउने भन्ने हो । बदमासी जसले गरे पनि कानुनअनुसार कारबाही हुनुपर्छ, गल्ती गर्नेले छूट पाउनु हुँदैन, आज मैले गल्ती गरे सजाय पाएँ, यस्तो गल्ती गर्ने अरुले पनि सजाय पाऊन् भन्ने स्विकारोक्ति लामिछानेले अभिव्यक्त गर्न जरुरी छ ।

लामिछानेप्रति सञ्चारमाध्यमको चासोको मूल कारण किन पनि हो भने पछिल्लो समय उनी छोटो समयमा नै उदाएका नेतृत्व हुन् । नयाँ शक्तिको एउटा हिस्सा हुन् । जनताले पुराना दल र नेतृत्वप्रतिको वितृष्णा उनी र उनको दललाई दिएको थियो । लामिछाने स्वयंले पनि मुलुकमा विधिको शासन कायम गर्न काम गर्ने प्रतिबद्धता जनतासामु गरेर निर्वाचित भएका हुन् । आज आएर कानुन नै पालना नगर्ने प्रवृत्ति उनमा देखिनु मुलुकका लागि ठूलो खतराको विषय हो ।

तर, लामिछानेले जसरी सञ्चारमाध्यम तथा तिनका प्रकाशक र सम्पादकमाथि प्रश्न उठाएका छन्, त्यसबाट भने कोही भाग्न मिल्दैन । प्रश्न गर्ने सञ्चारमाध्यम नै अहिले प्रश्नको कठघरामा उभिएको छ, भलै कसैले आफ्नो कुण्ठा व्यक्त गर्ने क्रममा किन नभएको होस् । मिडियाले पनि आफ्नो आत्मशुद्धीकरणमा काम गर्नुपर्ने जरुरी छ ।

नेपालमा निश्चित सञ्चारमाध्यमको बोलबाला र कुनै एक पक्षलाई बोक्ने र ठोक्ने प्रवृत्ति विगतदेखि देखिँदै आएको हो । स्वार्थ पूरा नहुनुन्जेल समाचार सम्प्रेषण गर्ने र कुरा मिलेपछि बन्द गर्ने प्रवृत्ति नेपाली सञ्चार जगत्मा नौलो होइन । अर्कोतर्फ अन्य निकायको ज्यादती, अनियमितता र भ्रष्टाचारलाई उदांगो पार्ने, नैतिकताको शिक्षा दिने सञ्चार गृहहरुमाथि आफ्नै कर्मचारीको शोषण गरिरहको आरोप लाग्ने गरेको छ ।

समयमा नै पारिश्रमिक नदिने, न्यूनतम पारिश्रमिक लागू नगर्ने, लामो समयसम्म करारमा राख्ने र उपदान लगायत धेरै सुविधा कटौती गर्ने सञ्चार गृहहरुमा पनि नियामक निकायको ध्यान पुग्न आवश्यक छ । सञ्चारमाध्यमका विषय कति सन्तुलित र एकपक्षीय छ, यसलाई त पक्कै पनि पाठकले मूल्यांकन गर्ने नै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर