राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न जारी छ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताएकी छन्। मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासाको उत्तर दिँदै उनले यस्तो बताएकी हुन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार संकटमा नरहेको बताइन्। उनले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले पार्टीलाई पुनः सरकारमा ल्याउन राजनीतिक ढंगबाट पहल गरिएको बताइन्।

मन्त्री शर्माले भनिन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेर जानुभएको छ तर सरकरको समर्थन फिर्ता लिनुभएको छैन। त्यसकारणले सरकार संकटमा भन्ने स्थिति देखिँदैन। उहाँहरूले सरकार छोड्नुभयो, उहाँहरूको आफ्नो पार्टीको स्वतन्त्रताको कुरा हो। त्यस विषयमा पनि फेरि थप छलफल गर्ने, त्यसमा हाम्रो गठबन्धन पनि छ, त्यसको सञ्चालन संयन्त्र पनि छ। त्यो राजनीतिक विषय भएकाले गठबन्धन सञ्चालन संयन्त्रका विषयमा छलफल गरेर राजनीतिक ढंगले नै हल गर्नुपर्छ, प्रधानमन्त्रीज्यूले बाहिर सार्वजनिक रूपमा पनि बोल्नुभएको छ कि हामी यो गठबन्धनलाई बचाउनको निम्ति र उहाँहरूलाई पनि फेरि सरकारमा सहभागी गराउनको निम्ति प्रयत्नशील छौं। त्यसका लागि पहल, प्रयत्न भइरहेको छ। सरकारको समर्थन फिर्ता नलिसकेपछि सरकार संकटमा परेको छैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर