९ वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही, ४ वटालाई ५० लाखका दरले जरिवाना

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासमा ‘क’ वर्गका ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। तीमध्ये ४ वटा बैंकलाई ५० लाख रुपैयाँका दरले जरिवाना तिराइएको छ। जरिवाना तिराइएकामध्ये एउटालाई सचेत पनि गराइएको छ। अन्य ४ लाई सचेत मात्र गराइएको हाे।

राष्ट्र बैंकले प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमाण्डू (हाल ग्लोबल आईएमई बैंक) र प्राइम कमर्सियल बैंकलाई ५० लाख रुपैयाँका दरले जरिवाना तिराएको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेकाले यी बैंकलाई जरिवाना तिराइएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै राष्ट्र बैंकले सानिमा, सिभिल, माछापुच्छ्रे, तत्कालीन नेपाल इन्भेष्टमेन्ट (हाल नेपाल इन्भेष्टमेन्ट मेगा), नबिल र प्रभु बैंकलाई  सचेत गराएकाे हाे। सचेत गराइएकामध्ये प्रभु बैंक जरिवाना तिर्नेमा पनि परेकाे छ। राष्ट्र बैंकले प्रभु बैंकलाई कर्जा सूचना कालोसूचीसम्बन्धी व्यवस्थाको बुँदा १९ उपदफा २ को (ङ) ५ को व्यवस्था पालना नगरेकाले सचेत गराएको छ।

माछापुच्छ्रे बैंकलाई २ वटा कैफियतमा सचेत गराइएकाे छ। पुँजी पर्याप्तता विवरण पेस नगरेकाले माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ। यस्तै एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेकाेमा पनि यस बैंकलाई सचेत गराइएकाे हाे।

सानिमा बैंकले बैंक तथा वित्तीय संस्थाको ऐन उल्लंघन गरी सुविधा प्रदान गरेकाले कार्यकारी अधिकृतलाई सचेत गराइएको छ।

सिभिल,  तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक) लाई पनि सचेत गराइएको छ। यी बैंकले एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपश्चात् प्रिमियम दर वृद्धि गरेकाले राष्ट्र बैंकले सचेत गराएको जनाएको हो।

नबिल बैंकलाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाको उपदफा २ मा रहेका ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नभएकाले सचेत गराइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर