सशस्त्र प्रहरीमा डीआईजी बढुवा सिफारिस भएका श्रेष्ठले दर्ज्यानी चिह्न लगाउन नपाउने

गृह मन्त्रालयमा बुधबार राति बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी बल, नेपालका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गर्‍याे। सशस्त्र प्रहरीमा १६ डीआईजीमध्ये रिक्त ४ पदमा पदपूर्तिका लागि उनीहरू बढुवा सिफारिस भएका हुन्। बढुवा सिफारिस हुनेको पहिलो नम्बरमा छन्- एसएसपी सुरेशकुमार श्रेष्ठ। श्रेष्ठसँगै एसएसपीहरू अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा पनि बढुवा सिफारिस भएका छन्।

पहिलो नम्बरमा बढुवा सिफारिस भएका एसएसपी श्रेष्ठले भने दर्ज्यानी चिह्न लगाउन नपाउने भएका छन्। कारण- उनी संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साइट (पीओसी) कोअर्डिनेटरको कार्यभार सम्हाल्न यही माघ २९ गते दक्षिण सुडान जाँदैछन्। सशस्त्र प्रहरी नियमावलीअनुसार बढुवा सिफारिस भएको दिनदेखि एक हप्तासम्म बढुवाप्रति चित्त नबुझे उजुरी गर्न सकिन्छ। तोकिएको म्यादसम्म पनि उजुरी नआएको खण्डमा मन्त्रिस्तरीय निर्णयले बढुवा गरिन्छ  र बढुवा भएको दिन नै सशस्त्र प्रहरी महानिरीक्षकले दर्ज्यानी चिह्न लगाइदिन्छन्। यसको अर्थ बुधबार डीआईजीमा बढुवा सिफारिस भएकाहरूले कुनै उजुरबाजुर नपरे फागुन २ गते दर्ज्यानी चिह्न लगाउनेछन्।

याे पनि-

सशस्त्र प्रहरीका चार एसएसपी डीआईजीमा बढुवा सिफारिस

तर, बढुवाको निर्णयपछि दर्ज्यानी चिह्न लगाउने दिन श्रेष्ठ भने दक्षिण सुडानस्थित रांष्ट्रसघीय शान्ति मिसनमा पीओसी कोअर्डिनेटरको जिम्मेवारी सम्हालिरहेका हुनेछन्। त्यसकारण उनले बढुवाको दिन दर्ज्यानी चिह्न लगाउन पाउने छैनन्। यद्यपि उनले बिदामा नेपाल आएर भने दर्ज्यानी चिह्न लगाउन सक्नेछन्।

एसएसपी श्रेष्ठ ग्लोबल भ्याकेन्सीअन्तर्गत खुल्ला प्रतिस्पर्धाबाट दक्षिण सुडानस्थित राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा पीओसी कोअर्डिनेटर (पी ४) मा छनोट भएका हुन्।

यस पदका लागि गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको प्रहरी डिभिजनले गरेको विज्ञापनमा नेपालको तर्फबाट श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए। धेरैवटा मुलुकका प्रतिस्पर्धीमध्ये परीक्षाका विभिन्न चरण र अन्तर्वार्तापश्चात् उनी छनोट भएका हुन्।

याे पनि-

सशस्त्रका एसएसपी श्रेष्ठ बने राष्ट्रसंघको पीओसी कोअर्डिनेटर

दक्षिण सुडानको शान्ति मिसनअन्तर्गत यो तहको पदमा पुग्ने श्रेष्ठ पहिलो नेपाली अधिकृतसमेत हुन्। श्रेष्ठ सशस्त्र प्रहरी बलको खुल्ला प्रतिस्पर्धाबाट सो पदमा छनोट हुने पहिलो अधिकृत हुन्।

उनी सशस्त्र प्रहरी बल स्थापनापश्चात् पहिलो ब्याचको निरीक्षक पदमा सेवा प्रवेश गरेर सर्वोत्कृष्ट भएका थिए। उनले यसअघि दक्षिण सुडान मिसनमा एक वर्ष एफपीयू कमाण्डरको रूपमा काम गरिसकेका छन्। त्यसैगरी संयुक्त राष्ट्रसंघ शान्ति स्थापना मिसन लाइबेरिया र राष्ट्रसंघको सहयोग मिसन इराकमा समेत नेपालको प्रतिनिधित्व गरेर काम गरिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर