‘पुँजीबजार लगानीकर्ताको अपेक्षाअनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भएन’

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पुँजीबजार लगानीकर्ताको अपेक्षाअनुसार माग सम्बोधन हुन नसकेको लगानीकर्ताहरूले बताएका छन्। शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा पुँजीबजारमा देखिएको नीतिगत समस्या सुधार हुने अपेक्षा लगानीकर्ताको रहे पनि अपेक्षानुसार नभएको भन्दै उनीहरूले गुनासो गरेका हुन्।

गत आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर मार्जिन धितो कर्जामा लागू भएको ४/१२ करोडको सीमा खारेज हुनुपर्छ भन्ने माग लगानीकर्ताहरूको रहेको थियो। तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ४ करोडको सीमा खारेज भए पनि १२ करोडको सीमा कायम रहेकाले त्यो पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा हट्ने अपेक्षा भए पनि राष्ट्र बैंकले सम्बोधन नगरेर शेयर लगानीकर्तालाई राष्ट्र बैंकले उपेक्षा गरको आरोप लगाए।

नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष तथा शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले शेयर लगानीकर्ताको माग मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पनि राष्ट्र बैंकले सम्बोधन नगरेर उपेक्षा गरेको बताए। उनले अर्थतन्त्रमा असहज हुँदा ल्याइएका नीतिहरू अर्थतन्त्रमा केही सहज हुँदा पुनरवलोकन हुन्छ भन्ने आम लगानीकर्ताको अपेक्षा र चासो भए पनि अपेक्षाअनुसार नआएको गुनासो गरे।

उनले नेपालका पुँजीबजारका संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्नका लागि राष्ट्र बैंकले कार्यविधि बनाउँदा शेयर लगानीकर्ताको मागलाई सम्बोधन गर्नेमा विश्वास गरेको उल्लेख गरे। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै पौडेलले नेपालको शेयर बजारमा संस्थागत लगानीकर्ताको उपस्थिति न्यून रहेको भन्दै व्यक्तिगत लगानीकर्ताको तुलनामा ६ देखि ७ प्रतिशत पनि नरहेकाले सरकारले प्रोत्साहन गर्न आवश्यक रहेको बताए। उनले ४/१२ करोडको नीतिले व्यक्तिगत लगानीकर्तालाई त्यस्तो असर नगरेको बताए।

उनले अहिले पुँजीबजार न्यून बिन्दुबाट माथिल्लो बिन्दुमा प्रवेश गरिरहेको अवस्थामा र बहुसंख्यक व्यक्तिगत लगानीकर्ता रहेको कारणले शेयर बजारमा प्रभाव नपर्ने बताए। उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीबजारमा संस्थागत लगानीकर्तालाई केही प्रोत्साहन गरे मात्रै पुँजीबजारको दिगो विकास हुन सक्ने बताए।

त्यस्तै नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले शेयर लगानीकर्तालाई उपेक्षा गरेको बताइन्। उनले शेयर लगानीकर्ताले ४ वटा माग राख्दासमेत राष्ट्र बैंकले सम्बोधन नगर्नु शेयर बजारप्रति उपेक्षा भएको आरोप लगाइन्।

उनले आफूहरूले राखेको ४/१२ को नीतिमध्ये ४ हटिसकेको अवस्थामा १२ को क्याप पनि हटाउन माग गर्दै अर्थमन्त्री र गभर्नरलाई भेटेर विशेष आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरिन्। उनले शेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिनुपर्ने भन्दै राष्ट्र बैंक निर्देशिकामा सम्बोधन गर्ने आशा रहेको पनि बताइन्। उनले लगानीकर्ता संघहरूले १२ करोडसम्मको शेयर कर्जाको सीमाले शेयर बजारलाई निरुत्साहित गरेकाले सो व्यवस्थालाई फिर्ता गरिनुपर्ने माग कायम रहेको बताइन्।

अध्यक्ष पोखरेलले विद्यमान ब्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त ब्याजदरमा पुनरवलोकन गरी एकल अंकमा ल्याउनुपर्ने बताइन्। उनले वर्तमान सरकारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आएपश्चात् पुँजीबजारमा नीतिगत सुधार हुन्छ भन्ने अपेक्षा रहेको बताइन्।

उनले शेयर लगानीकर्ता अहिले निराश हुनुपर्ने अवस्था भने नरहेको बताइन्। उनले शेयर लगानीकर्ताले चाहेको र बजार बुझेको अर्थमन्त्री भएकाले अर्थमन्त्रीले पुँजीबजारमा रहेका नीतिगत समस्यालाई समाधान गर्नेमा आशा रहेको उल्लेख गरिन्। उनले मौद्रिक नीतिको समीक्षामा लगानीकर्तालाई सम्बोधन नगर्दैमा लगानीकर्ता निराश भएर बजारबाट भाग्न नहुने बताइन्।

उनले पुँजीबजार लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताइन्। उनले अर्थमन्त्रीले पुँजीबजारलाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउँदै बजारका नीतिगत समस्यालाई सुधार गरे मात्रै पुँजीबजारको दीर्घकालीन विकास हुने बताइन्। उनले पछिल्लो समय राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक रहेको भन्दै पुँजीबजारलाई नियमन गर्ने बहानामा नियन्त्रण गरेको आरोप लगाइन्। उनले पछिल्लो समय धेरै निराश साना लगानीकर्ता भएको बताइन्।

अध्यक्ष पोखरेलले नेपालको पुँजीबजार राजनीतिक इगोको कारण पनि धरासायी बनाउने काम भइरहेको बताइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *