नेपालमा धर्मनिरपेक्षताको आडमा इसाईकरण तीव्र रूपमा बढिरहेको छ : जनमोर्चा

राष्ट्रिय जनमोर्चाले नेपालमा धर्मनिरपेक्षताको आडमा इसाईकरण तीव्र रूपमा बढिरहेको दाबी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुक्रबार १३ बुँदे ज्ञापनपत्र बुझाउँदै जनमोर्चाले यस्तो दाबी गरेको हो।

राज्यमाथि धर्मको प्रभाव रोक्न र स्वयं राज्य धर्मको विषयमा तटस्थ रहन नै धर्म निरपेक्षताको सिद्धान्तको विकास भएको भए पनि नेपालमा भने त्यसैको आडमा इसाईकरण तीव्र रूपमा बढिरहेको उसको दाबी छ। तीव्र रूपमा बढिरहेको इसाईकरण र बढ्दो इसाईकरणका विरुद्ध हिन्दू अतिवादीका गतिविधि तथा दुइटै धर्मलाई आ-आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने हतियारका रूपमा प्रतिक्रियावादी तथा साम्राज्यवादीले प्रयोग गरेको हुनाले धर्म निरपेक्षता खतरामा परेको पनि जनमोर्चाले उल्लेख गरेको छ।

‘राज्यमाथि धर्मको प्रभाव रोक्न र स्वयं राज्य धर्मको विषयमा तटस्थ रहन नै धर्म निरपेक्षताको सिद्धान्तको विकास भएको हो तर नेपालमा धर्म निरपेक्षताको आडमा इसाईकरण तीव्र रूपमा बढिरहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘तीव्र रूपमा बढिरहेको इसाईकरण र बढ्दो इसाईकरणका विरुद्ध हिन्दू अतिवादीका गतिविधि तथा दुइटै धर्मलाई आआफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने हतियारका रूपमा प्रतिक्रियावादी तथा साम्राज्यवादीले प्रयोग गरेको हुनाले धर्म निरपेक्षता खतरामा परेको छ।’

धर्म निरपेक्षताको रक्षाका लागि हिन्दू अतिवादीद्वारा हिन्दू राज्य कायम गर्न तथा तीव्र ढंगबाट धर्म परिवर्तनका लागि भइरहेको इसाईकरणका विरुद्ध आवश्यक कदम चाल्न पनि जनमोर्चाले सरकारसँग माग गरेको छ।

यस्तै राष्ट्रिय जनमोर्चाले अमेरिकी गुप्तचर संस्था सीआईए (सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी)द्वारा सञ्चालित व्यक्तिलाई पुनः नेपालको गृहमन्त्री बनाउन दबाब आइरहेको जनाएको छ।

अमेरिका र यसको गुप्तचर संस्था सीआईएले सञ्चालन गरेको व्यक्तिलाई फेरि गृहमन्त्री बनाउन दबाब आएको दाबी जनमोर्चाले गरेको हो। ‘अमेरिकी साम्राज्यवाद तथा सीआईएद्वारा सञ्चालित व्यक्तिलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन तपाईंको सरकारमाथि दबाब परिरहेको छ,’ ज्ञापनपत्रमा भनिएको छ।

त्यसका बाबजुद प्रधानमन्त्रीले त्यसप्रकार अवाञ्छित व्यक्तिलाई गृहमन्त्रीको जस्तो संवेदनशील जिम्मेवारी नदिएको भन्दै प्रशंसा गरेको छ।

सीआईएद्वारा सञ्चालित व्यक्ति को हो भन्ने ज्ञापनपत्रमा खुलाइएको छैन। तर, नाम उल्लेख नभए पनि आफ्नो पार्टीले रवि लामिछानेलाई पुनः गृहमन्त्री नबनाउन लबिइङ गर्दै आएको ज्ञापनपत्र बुझाउन गएका जनमोर्चाका एक पदाधिकारीले बताए।

ज्ञापनपत्र बुझाउन जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री र केन्द्रीय सदस्य घनश्याम न्यौपाने बालुवाटार पुगेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *