पाँच दलीय गठबन्धन ब्युँताउने तयारीसँगै ओलीले सुरु गरे प्रचण्डको आलोचना

राष्ट्रपति निर्वाचनमा सहमति जुट्न नसकेपछि वर्तमान सत्ता गठबन्धन फुटाई पाँच दलीय गठबन्धन ब्युँताउने तयारीसँगै सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल सहभागी सरकारकै आलोचना गर्न थालेका छन्।

ओलीले बिहीबार आफ्नो जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजित ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे  आलोचना गरेका छन्। उनले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रूपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरे। उनको यो अभिव्यक्तिले वर्तमान सत्ता गठबन्धन फुट्न लागेको प्रस्ट संकेत दिएको छ।

अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताए। उनले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको उल्लेख गदै त्यस्ता कार्यलाई सही भन्न नसकिने बताए।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष  दाहालप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नुपर्‍याे भनी प्रश्न गरे। उनले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको पनि बताए।

ओलीले भने, ‘यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्‍याे। त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ। जुन कुरा चाँहिँ सही होइन। सरकारले किन त्यो गर्‍याे? आकास्मिक रूपमा त्यो किन गर्नुपर्‍याे? आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइइकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नुपर्‍याे? त्यो मैले पनि बुझेको छैन। यसले सम्झी-सम्झीकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएको जस्तो मात्रै लाग्छ मलाई।’

त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल हिंसाको पक्षमा हुनै नसक्ने बताए। नेपाली जनतामा परस्परमा लड्ने/लडाउने कुरा कहिल्यै पनि स्वीकार्य हुन नसक्ने उनकाे भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर