बिनानिष्कर्ष सकियाे चार दलकाे बैठक, अपराह्न ५ बजे फेरि बस्ने

राष्ट्रपति चयनका सन्दर्भमा छलफल गर्न बसेको प्रमुख राजनीतिक दलको बैठकमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा राष्ट्रपतिको उम्मेदवार चयनका बारेमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अपराह्न ५ बजे पुनःबैठक बसेर अन्तिम निष्कर्ष दिइने जानकारी दिए ।

महामन्त्री थापाले भने, ‘हामीले सबै दलसँग छलफल गर्दै आएका थियौं । सोही क्रममा आज चार दलका बीचमा छलफल भएको हो । आजको छलफल सकारात्मक छ, हामी एउटा टुंगोमा पुग्छौं ।’

आ–आफ्ना दलबीच पुनःछलफल गरेर बैठक पुनः अपराह्न ५ बजे बस्नेछ । बैठकमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर