तीन महिनामै टुट्यो एमाले-माओवादी सहकार्य

वर्तमान सत्तारूढ गठबन्धन भत्किएको छ। राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सत्तारूढ नेकपा माओवादी केन्द्रसहित आठ दलको निर्णयसँगै सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेको हो।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित आठ दलको बैठकमा सो निर्णय भएको हो।

बैठकमा प्रचण्डले संसद्को सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिको चुनावमा समर्थन गर्ने प्रस्ताव राखेका थिए। प्रचण्डको प्रस्तावमा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।

बैठकपछि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन्।

यससँगै नेकपा एमाले र माओवादी केन्द्रको सत्ता सहकार्य दोस्रो पटक बीचमै टुटेको छ । दोस्रो पटकको सहकार्य तीन महिनामै टुटेको हो। एमाले र माओवादीसहित सात दल र केही स्वतन्त्र सांसदको समर्थनमा गत पुस १० गते प्रचण्डको नेतृत्वमा सरकार गठन भएको थियो।

२०७४ को निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेका एमाले र माओवादीले पार्टी एकता नै गरेर सत्ता सहकार्य गरेका थिए। मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीबीच ३ जेठ २०७५ मा एकता घोषणा भएको थियो।

तत्कालीन समयमा नेकपाको नाममा एकता भएका यी दुई दलबीच आधा-आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति भएको थियो। तर, बीचमा ओली सहमतिबाट विमुख हुन खोज्दा पार्टी फुटको संघारमा पुगेको थियो।

सत्ता सहकार्यकाे तीन वर्ष नपुग्दै दुई तिहाइको समर्थन पाएको सरकार एकाएक अल्पमतमा परेको थियो। सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाबाट नेकपाको खारेजीसँगै पार्टी छिन्नभिन्न भएकाे थियाे।

पार्टी फुटेपछि अल्पमतमा परेको एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन सकेन र सरकार ढल्यो। त्यसपछि नेकपा माओवादी केन्द्रसहित पाँच दलको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर