उपरथी शाहीलाई सघाएको आरोपमा पक्राउ परेका दुई सैनिकलाई उपस्थित गराउन सर्वोच्चको आदेश

आर्थिक अनियमितताको आरोपमा सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाहीलाई सघाएको आरोपमा नियन्त्रणमा लिइएका दुई सैनिकलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

जंगीअड्डा स्रोतका अनुसार सेनाले पक्राउ गरेलगत्तै गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै दुवै सैनिक अधिकृतले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका छन् ।

सैनिक अनुशासन विपरीतको कार्य गरेको अभियोगमा थुनामा राखिएलगत्तै उनीहरूको तर्फबाट अदालतमा रिट परेको हो ।

रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले तीन दिनभित्र दुवै सैनिक अधिकारीलाई उपस्थित गराउन आदेश दिएको छ ।

जंगी अड्डालाई विपक्षी बनाएर दिइएको रिट निवेदनसम्बन्धी संक्षिप्त आदेशमा भनिएको छ, ‘आदेश जारी हुन नपर्ने भए आधार, कारणसहित म्याद सूचना प्राप्त भएको मितिले ३ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्नू ।’

अदालतले अनुसन्धानसम्बन्धी मुख्य कागजातहरूको प्रमाणित प्रतिलिपिसमेत मगाएको छ ।

उच्च सैनिक स्रोतका अनुसार उपरथी शाहीसहितले मिलेर सेनाविरुद्ध गम्भीर षड्यन्त्रको योजना बनाएको विषयमा समेत कोर्ट मार्सलमा सोधपुछ भइरहेको छ।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले शाह र तिमिल्सिनालाई सोधपुछ गर्न लागिएको जानकारी पर्दाफासलाई दिए । उनीहरूमाथि सैनिक अनुशासन उल्लंघनको आरोप रहेको पनि प्रवक्ता भण्डारीले बताए ।

उपरथी शाही आफ्नो कार्यकालमा विभिन्न युनिटमा रहँदा अनियमितता गरेको आरोपमा सैनिक हिरासतमा छन् । उनीविरुद्ध छानबिन गर्न सैनिक मुख्यालले उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो ।

समितिले बुझाएको प्रतिवेदनअनुसार सैनिक अदालतको प्रक्रियाअनुसार कर्णेल शाह र लेफ्टिनेन्ट कर्णेल तिमिल्सिनालाई नियन्त्रणमा लिइएको हो । ‘उहाँहरूलाई सैनिक अनुशासन उल्लंघनको आरोपमा सोधपुछका लागि नियन्त्रणमा लिइएको छ,’ प्रवक्ता भण्डारीले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर