८ दलीय गठबन्धनबीच राष्ट्रपति उम्मेदवारमा मात्रै सहमति भएको हो : शरदसिंह भण्डारी

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता शरदसिंह भण्डारीले ८ दलीय गठबन्धनबीच राष्ट्रपतिको उम्मेदवारको विषयमा मात्रै सहमति भएको बताएका छन्।

जनकपुरधाममा ८ दलीय सत्ता गठबन्धनको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले राष्ट्रपतिको निर्वाचनलाई लिएर मात्रै अहिले सहमति भएको बताएका हुन्।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का नेता हरिनारायण यादवले उपराष्ट्रपति जसपाले पाउनुपर्ने बताएपछि ८ दलीय गठबन्धन अहिले राष्ट्रपतिको निर्वाचनमा मात्रै केन्द्रित रहेको भण्डारीले बताए। उनले सञ्चारमाध्यममा उपराष्ट्रपति, संघको खाली मन्त्रालयहरू, प्रदेश सरकारको विषयमा अहिले गठबन्धनभित्र कुनै किसिमको छलफल नभएको बताए।

भण्डारीले यो गठबन्धन सरकार बनाउन वा राष्ट्रपति निर्वाचनसम्मका लागि मात्रै नभई संविधानबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नका लागि समेत बनेको बताए। उनले यसअघिको सत्ता गठबन्धन सहमतिको राजनीतिलाई तोडेकै कारण भत्किएको दाबी गरे। शक्ति सन्तुलनको राजनीतिमा एमालेले विश्वास गर्न नसकेकै कारण एमाले अहिले सत्ता गठबन्धन बाहिर रहेको भण्डारीको भनाइ थियो।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादवले गठबन्धनको उम्मेदवार पौडेललाई निर्वाचित गराउनका लागि नेपाली कांग्रेस आफैँ इमानदार हुन आवश्यक रहेको बताए। उनले राष्ट्रपति उम्मेदवारलाई गठबन्धनले जिताउन कांग्रेसका नेताहरू नै इमनदार हुनुपर्ने बताए। उनले कांग्रेसका नेताहरूमा नै आफ्नो शंका रहेको बताए।

अभिमुखीकरण कार्यक्रममा ८ दलीय गठबन्धनमा आबद्ध ८ वटै दलका नेताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *