माओवादी घटकहरू एक ठाउँ हुने समय आएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सम्पूर्ण माओवादी घटकहरुलाई एकताबद्ध हुन आग्रह गरेका छन्।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री दाहालले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका हुन्।

उनले सबै माओवादीहरू एक ठाउँमा केन्द्रित हुने समय आएको बताए। उनले विगतमा विभाजित भएर सबैले आ–आफ्नो अनुभवहरू समेटेको भन्दै एकअर्काका अनुभवहरूलाई आफ्नै अनुभवको रूपमा लिएर एकताबद्ध हुनुपर्ने बताए।

प्रधानमन्त्री दाहालले आफूले एकताका लागि सबैसँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने निकै अघि बढिसकेको बताए।

प्रधानमन्त्री दाहालले आफू जनयुद्धका कमाण्डरको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विभिन्न दबाब र घेराबन्दीविरुद्ध लडिरहेको बताए। उनले मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र धर्मेन्द्र बास्तोलाहरू पनि विभिन्न घेराबन्दीका विरुद्ध लडिरहेको आफूले देखेको भन्दै अब सबै मिलेर एक भएर लड्नुपर्ने बताए। आफुहरू एक हुनु नै शहीद र बेपत्ता योद्धाहरूप्रति इमानदार भएको ठहर हुने उनको भनाइ छ।

उनले आफू तेस्रो पटक प्रधानमन्त्री भएसँगै जनयुद्धका शहीदहरूको नाम राजपत्रमा प्रकाशित गर्ने लगायतका निर्णयहरू गराउन सफल भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर