नवलपरासीको रामग्राम नगरपालिकामा फोहोरको व्यवस्थापन भएन, दुर्गन्धले स्थानीय मारमा

नवलपरासीको सबैभन्दा पुरानो नगरपालिकाको रूपमा रहेको रामग्राम नगरपालिकामा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा दुर्गन्ध फैलिएको छ । फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको उचित व्यवस्था हालसम्म पनि नहुँदा त्यहाँका स्थानीय फोहोरको मारमा परेका हुन् । फोहोर सहुवाटिकर नदी किनारामा फालिँदा नदीलाई समेत दुर्गन्धित बनाएको स्थानीयको गुनासो छ । खेतीयोग्य जमिनमा सिधै फोहोर फालिँदा स्थानीय किसानहरूसमेत मारमा परेका छन् ।

फोहोर व्यवस्थापनका लागि हालसम्म पनि यस नगरपालिकामा डम्पिङ साइट बनेको छैन । दिनहुँ निस्कने फोहोर रामग्राम नगरपालिकाको वडा नम्बर १ को सहुवाटिकरस्थित नदीको किनारमा निजी जग्गामा पनि फैलिँदै गएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनको उचित विकल्प नखोज्दा फोहोर सिधै नदीमा खस्दा त्यसमा पनि प्रदूषण बढेको छ । दैनिक निस्किने फोहोरले दुर्गन्ध बढेको मात्र होइन निजी जग्गामा अस्पतालजन्य हानिकारक फोहर, स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्जसहितका अस्पतालजन्य फोहर, मरेका चौपायहरू गाई, गोरु, कुकुर , बिरालो साथै सबै किसिमका फोहोरजन्य पदार्थ व्यवस्थापन नहुँदा स्वास्थ्यका लागि हानिकारक भएको स्थानीय बताउँछन् ।

नगरपालिकाले मन लाग्दी फोहोर फालिरहेको छ । जसका कारण वातावरणमा समेत नकारात्मक प्रभाव परिरहेको सरोकारवालाले बताउँदै आएका छन् । तर, नगरको फोहोर व्यवस्थापन गर्न नसक्नुमा स्थानीय जनप्रतिनिधिहरू नै दोषी रहेको स्थानीयको आरोप छ ।

अधिकांश स्थानीय तहले अहिले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गर्न सकेका छैनन् । जसका कारण खोला, बाटो, झाडी, जंगलजस्ता ठाउँमा फोहोर देखिन्छन् । नगरको फोहर व्यवस्थापन गर्ने प्रमुख दायित्व नगरको हो तर स्थानीय सरकारले दीर्घकालीन सोचका साथ काम नगरेको स्वयं जनप्रतिनिधिकै आरोप छ । रामग्राम नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष रुद्रप्रसाद उपाध्यायले नगरपालिकाले बजेटको उचित व्यवस्था नगरेकाले फोहोरको व्यवस्थापन गर्न नसकिएको स्वीकार गरे ।

आफ्नो नगर कस्तो बनाउने हो ? त्यो भिजन रामग्रामले बनाउन सकेको छैन । यसमा दोषी नगरप्रमुख मात्र होइन् सबै जनप्रतिनिधिहरुको दोष छ । हिजो नहुँदा हामी गर्छौं भन्नेहरू आज त्यही ठाउँमा पुगेका छन् । तर, किन उनीहरूले नै गर्न सकेनन् ? स्थानीयले प्रश्न उठाएका छन् । डम्पिङ साइटको तत्काल व्यवस्थापन गरेर फोहोरको व्यवस्थापन गर्नुपर्दछ । फोहरकै कारण विभिन्न खाले रोगको जोखिम हुन्छ, त्यसको व्यवस्थापनमा नगरपालिकाले बेलैमा ध्यान दिन जरुरी छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर