रात्रिकालीन व्यवसायको आवरणमा मौलाउँदै ठगी र लुट

काठमाडौंमा रात्रिकालीन व्यवसायका नाममा लुट र ठगीधन्दा विकराल बन्दै गएको छ। डान्स बार, डिस्को क्लब तथा दोहोरी साँझका नाममा ग्राहकरूलाई विभिन्न प्रलोभन देखाएर ठगी र लुटपाटको शृंखला यति बढिरहेको छ कि सक्रिय रूपमा लागिपर्दा समेत यसलाई नियन्त्रणमा लिन सकस परेको प्रहरी अधिकारीहरू नै स्वीकार गर्छन्।

यहीबीच प्रहरीले लुटपाट आरोपमा नयाँ बसपार्कको एक डान्स बारबाट ११ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सनलाइट लाइभ डान्स बारमा विभिन्न बाहाना बनाई भारतीय नागरिकहरू आदित्य मिश्र, हरपिन्द्र सिंह, रवि नागपाल र नेपाली नागरिक विशाल गौतमलाई लुटपाट गरेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको हो।

फागुन १० गते राति ८ बजे सो डान्स बारमा आफूहरू लुटिएको भन्दै पीडितहरूले प्रहरीलाई खबर गरेका थिए। आदित्य मिश्रको ६५ हजार नेपाली र ५० हजार भारतीय रुपैयाँ हरपिन्द्र सिंहको ५० हजार भारतीय र ७० हजार नेपाली रुपैयाँ, रवि नागपालको ५० हजार भारतीय र ६५ हजार नेपाली रुपैयाँ तथा विशाल गौतमको ५ हजार ५०० नेपाली रुपैयाँ जबरजस्ती लुटपाट गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। सूचनालगत्तै प्रहरी वृत्त, महाराजगञ्ज र प्रहरी वृत्त , दरबारर्मागबाट खटिएको प्रहरी टोलीले लुटपाटमा संलग्नहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा पर्सा स्थायी घर भई काठमाडौंको बौध टुसाल बस्ने २६ वर्षका निर्दोष थापा,उदयपुर कटारी नगरपालिका-३ स्थायी घर भई चाबहिल बस्ने २४ वर्षका नयन राई, उदयपुर ताप्ली गाउँपालिका-१ स्थायी घर भई हात्तीगौडा बस्ने २७ वर्षका प्रकाश राई, उदयपुर उदयपुरगढी गाउँपालिका-१ स्थायी घर भई बूढानीकलण्ड बस्ने २३ वर्षका सुदीप चाम्लिङ, बागलुङ कुश्मी स्थायी घर भई बालाजु बस्ने २५ वर्षीया प्रेमी पुन छन्।

यस्तै रसुवा धुन्चे स्थायी घर भई तारकेश्वर नगरपालिका-४ बस्ने १९ वर्षकी सुशीला तामाङ, रसुवा डाडागाउँ स्थायी घर भई हाल तारकेश्वर-४ बस्ने २० वर्षकी एलिना तामाङ, सिन्धुपाल्चोक तातोपानी स्थायी घर भई गणेशस्थान बस्ने २१ वर्षकी पेमा शेर्पा, रसुवा डाडागाउँ स्थायी घर भई हाल तारकेश्वर–४ बस्ने २० वर्षकी सोनी लामा, काभ्रेपलाञ्चोक पाँचखाल स्थायी घर भई तारकेश्वर-४ शेषमती बस्ने २१ वर्षकी सञ्जु लामा, रसुवा ठूलेगाउँ स्थायी घर भई तारकेश्वर-४ बस्ने २१ वर्षकी वर्षा लामा रहेका छन्।

उनीहरूका साथबाट प्रहरीले ४ हजार रुपैयाँ नगद पनि बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसुरमा काठमाडौ जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको वृत्तका डीएसपी अंगुर जीसीले जानकारी दिए।

पक्राउ परेकाहरूलाई अदालत हाजिर गराउँदै प्रहरी।

डीएसपी जीसीका अनुसार बसपार्क क्षेत्रमा रात्रिकालीन व्यवसायका नाममा लुट र ठगी बढ्दो छ। ‘एकाधलाई छाडेर बसपार्क क्षेत्रका अधिकांश डान्स बारहरूको धन्दा नै यही देखिएको छ। यस्ता केसमा कैयौंपटक धेरैलाई नियन्त्रणमा लिइसकेका छौं। अघिल्लो महिना मात्रै २१ जनालाई नियन्त्रणमा लिएका थियौं,’ डीएसपी जीसीले भने, ‘व्यवसाय नै बन्द गरिदिए पनि केही समयपछि फेरि अर्कैले भाडामा लिएर त्यस्तै धन्दा चलाउने गरेका छन्।’

उनका अनुसार यसरी लुटपाट र ठगी गर्ने कार्यमा ठूलो समूह सक्रिय छ। ‘सञ्चालकले डान्स बार र डिस्को क्लबहरूमा यस्तो कामका लागि पुरुष र महिलाहरू राखेका हन्छन्। बाहिरबाट एक समूहले ग्राहक फकाएर ल्याउने अनि भित्र प्रवेश गरेपछि त्यहाँ रहेका महिलाहरू ग्राहकसँग नजिक हुने, जुस खान मन लाग्यो भन्दै किन्न लगाउने अनि सुरुमा सहज व्यवहार गरे पनि बीचमा तिमीले मलाई यौन दुर्व्यवहार गर्न खोजेको हो? म पुलिस केस गर्छु भन्दै डर-त्रास देखाउने गरेको पाइएको छ,’ डीएसपी जीसीले भने, ‘त्यसपछि बारभित्रकै अर्को कोठामा रहेका पुरुषहरूको समूह आउने र धम्क्याएर रकम लिने गरेको देखिन्छ।’

ठगी कार्यका लागि नागढुंगादेखि ठमेल र बसपार्क क्षेत्रसम्मै समूह सक्रिय रहेको पाइएको डीएसपी जीसीले बताए। उनका अनुसार उनीहरूले सकेसम्म भारतीय नागरिकहरूलाई ठगी र लुटपाट गर्ने गरेका छन्। यस्तै ग्रामीण क्षेत्रबाट आएका सोझासाझा नेपाली पुरुषहरूलाई पनि लुटपाट र ठगी गर्ने गरेका छन्। सस्तोमा गेष्ट हाउसमा कोठा, खाना, यौनकर्मी महिला मिलाइदिने भन्दै यस्तो समूहले ग्राहकरूलाई प्रलोभनमा पारेर बारसम्म लैजाने र लुटपाट तथा ठगी गर्ने गरेको पाइएको डीएसपी जीसीले बताए। उनका अनुसार यस्ता धेरै घटनामा पीडितहरू प्रहरीको सम्पर्कसम्म पुग्दैनन्।

रात्रिकालीन व्यवसायको आवरणमा विकृतिसँगै लुट, ठगी, झैंझगडा लगायतका आपराधिक घटना बढिरहेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की रात्रिकालीन व्यवसायमा हुने ठगी तथा लुटपाटका घटनाबाट बच्न सेवाग्राही आफैं पनि सचेत हुनुपर्ने बताउँछन्। यसमा सेवाप्रदायकसँगै सेवाग्राही दुवैको जिम्मेवारी उत्तिकै हुने उनको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर