नेपाल प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन्।

शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

५६ वर्षे उमेर हदका कारण एआईजीहरू विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरुणकुमार बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अवकाश पाएसँगै नेपाल प्रहरीमा ५ एआईजी पद रिक्त थियाे। एआईजी पोखरेलले २०७९ साउन २०, आचार्यले भदौ २३, बीसीले कार्तिक १४, धानुकले कार्तिक २४  र सिंहले फागुन ७ मा अवकाश पाएका थिए।

राष्ट्रपतिको निर्वाचनअघि आचारसहिंता लाग्ने भएपछि एआईजी बढुवा प्रक्रिया अघि बढ्न सकेको थिएन। बिहीबार राष्ट्रपति निर्वाचन सकिएसँगै गृह मन्त्रालयले निर्वाचन आयोगबाट बढुवाका लागि अनुमति पाएपछि शुक्रबार पाँच डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको हो।

बढुवा सिफारिस सूची।

निर्वाचन आयोगले आगामी चैत ५ गतेसम्म आचारसंहिता लगाएको छ। उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदैछ।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंह र बाँकी ३ एआईजी चैत ११ गतेदेखि अनिवार्य अवकाशमा जाने भएपछि त्यसपछिको नेतृत्व गर्ने प्रहरी डीआईजी नै थिए। एआईजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी चैत ११ गतेदेखि अवकाशमा जाने भएपछि पाँच डीआईजीको बढुवा भएको हो।

यसपटक एआईजी बढुवा हुनेहरू स्वाभाविक रूपमा भावी प्रहरी महानिरीक्षकको दाबेदार हुन्। तर, आईजीपी सिंह प्रहरी नियमावली संशोधन गरेर सेवा अवधि हटाई पदावधि लम्ब्याउने तीव्र कसरतमा छन्। उनको यो प्रयासले धेरै हदसम्म सफलता पाउनसक्ने संकेत देखिएको छ। हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेर आईजीपी सिंहले यस विषयमा लामो कुराकानीसमेत गरेका थिए। कथमकदाचित उनकाे प्रयास विफल भएमा भने हाल बढुवा भएका ५ एआईजीमध्येबाटै १ जना भावी आईजीपी बन्नेछन्।

आईजीपीका बलिया दाबेदार मानिएका डीआईजी अशोक सिंहले भने उमेर र शैक्षिक योग्यता विवादपछि एआईजी बढुवाअघि नै राजीनामा दिइसकेका थिए। उनलाई एआईजीमा बढुवा गर्न गृहसचिव विनोदप्रकाश सिंहले नै चलखेल गरेको आरोप लाग्दै आएको थियो। एआईजीमा बढुवा भएर आईजीपी बन्ने दौडधुपकै बीच नागरिकता र शैक्षिक प्रमाणपत्रको विवादले उनलाई राजीनामा दिन बाध्य बनाएपछि उनको ‘आईजीपी सपना’ अधुरै रहन पुग्यो।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर