इन्डो प्यासिफिक क्षेत्रमा चीनलाई रोक्न अमेरिका, बेलायत र अस्ट्रेलियाबीच ‘अकस सम्झौता’

हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावबीच अमेरिका, बेलायत र अस्ट्रेलियाले सो क्षेत्रमा आणविक हतियारसहितको पनडुब्बी राख्नेसम्बन्धी योजना अघि बढाएका छन् । यी तीन देशबीच भएको यो सम्झौतालाई ‘अकस’ नाम दिइएको छ ।

चीनले आफ्नो सैन्य क्षमता बढाउने घोषणा गरेसँगै यी देशहरुले पनि चीनको दबदबा रोक्न यस्तो सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अब अमेरिका र बेलायतले अस्ट्रेलियासँग अत्याधुनिक आणविक पनडुब्बीसम्बन्धी प्रविधि आदानप्रदान गर्नेछन् ।

सम्झौताअनुसार अस्ट्रेलियालाई आणविक क्षमताले सुसज्जित लडाकू पनडुब्बी उपलब्ध गराइनेछ । तीन देशको यो सम्झौतालाई चीनले शान्ति र स्थायित्वलाई असर पर्ने प्रतिक्रिया दिएको छ । परमाणु हतियारलाई रोक्ने प्रयासलाई पनि यो कदमले धक्का दिने चीनको यूएन मिसनको भनाइ छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने हिन्द प्रशान्त क्षेत्रमा शान्ति कायम राख्न यो सम्झौता गरिएको बताएका छन् । उनले यस्ता पनडुब्बीमा आणविक शक्ति भए पनि परमाणु हतियार नहुने दाबी गरेका छन् । उनले परमाणु मुक्त हुने अस्ट्रेलियाको योजनालाई पनि यो सम्झौताले असर नगर्ने बताएका छन् ।

यो सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा आगामी धेरै दशकसम्म सुरक्षा सुदृढ हुने धारणा राखेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्नो देशको इतिहासमा रक्षा क्षेत्रमा यो लगानी सबैभन्दा ठूलो हुने बताएका छन् । यो योजनाको लागत २ सय ४५ बिलियन अमेरिकी डलर छ ।

सुरुमा अमेरिकामा बनेका तीनवटा पनडुब्बी अस्ट्रेलियालाई उपलब्ध गराइनेछ । त्यसपछि बेलायत र अस्ट्रेलियामा नयाँ पनडुब्बी बनाइनेछ । अमेरिकाबाट यो प्रविधि हासिल गर्ने अस्ट्रेलिया बेलायतपछिको राष्ट्र बन्नेछ । यो सम्झौता अनुसार अस्ट्रेलियाका नौसैनिकहरुलाई पनडुब्बी सञ्चालनबारे अमेरिका र बेलायतमा तालिम दिइनेछ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर