खानी दोहनको मुद्दामा भूगर्भ विभागका महानिर्देशक र उद्योगीसहित १८ जनालाई सफाइ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ माघ २०७८ मा दायर गरेको भ्रष्टाचार मुद्दामा खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित सबै १८ जनालाई विशेष अदालतले सफाइ दिएको छ । शुक्रबार विशेष अदालतका न्यायाधीशहरु रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले आरोपितहरुलाई सफाइको आदेश दिएको हो ।

तोकिएको भन्दा बढी परिमाणमा खानी दोहन गरेको आरोपमा उद्योगी र त्यसलाई अनुमोदन गरेकोमा कर्मचारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । उनीहरुले गैरकानुनी रुपमा उत्खनन गर्दा सरकारलाई राजस्व हानिनोक्सानी पु¥याएको अख्तियारको अभियोग पत्रमा उल्लेख थियो ।

आरोपितहरुमा विभागका नौ कर्मचारी र अवैध उत्खननमा संलग्न नौ उद्योग र सञ्चालक थिए । अख्तियारले यो मुद्दामा कुल बिगो ५ अर्ब रुपैयाँ दाबी कायम गरेको थियो । साथै कर्मचारी र व्यवसायी मिलेर राज्यलाई एक अर्ब २४ करोड ४५ लाख रुपैयाँ राजस्व नोक्सान गरेको अभियोग अख्तियारले लगाएको थियो ।

आरोपितहरुमा विभागका महानिर्देशक रामप्रसाद घिमिरे, उपमहानिर्देशक जयराज घिमिरे र कानुन शाखाकी उपसचिव सपना अधिकारी विरुद्ध जनही एक अर्ब २४ करोड ४५ लाख बिगो कायम गरेको थियो । अन्य ६ कर्मचारीविरुद्ध कसुरको मात्राअनुसार तीन महिनादेखि एक वर्षसम्म कैद र १० देखि २५ हजार जरिवाना मागदाबी गरिएको थियो ।

उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजनल माइनिङ इन्जिनियर प्रशान्त बोहरा, सिनियर डिभिजनल जियोलोजिस्ट धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र जियोलोजिस्ट डा. सौनक भण्डारीविरुद्ध मुद्दा दायर गरिएको थियो ।
मुद्दा खेप्ने व्यवसायीहरूमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सिद्धार्थ मिनरल्स प्रालिका पशुपति मुरारका, मारुती सिमेन्टका सरद गोयल, युनाइटेड सिमेन्टका नरेश दुगड, सोनापुर मिनरल्सका निपेश तायल, सर्वोत्तम सिमेन्टका विष्णुप्रसाद न्यौपाने, अन्नपूर्ण क्वेरिजका ऋषि अग्रवाल, डोलोमाइट चुनढुंगाका मानबहादुर श्रेष्ठ, कञ्चन क्वेरिजका भीमबहादुर थापा क्षेत्री, उदयपुर मिनरल्सका प्रबलजंग पाण्डे थिए ।

मुरारकाको सिद्धार्थलाई ४९ करोड ४५ लाख, मारुती सिमेन्टलाई २० करोड ५० लाख, सर्वोत्तमलाई १६ करोड ३१ लाख, अन्नपूर्ण क्वेरिजलाई ११ करोड १७ लाख, युनाइटेड सिमेन्टलाई नौ करोड ६९ लाख, सोनापुर मिनरल्सलाई ६ करोड ९८ लाख, डोलोमाइट चुनढुंगालाई पाँच करोड ४३ लाख, कञ्चन क्वेरिजलाई तीन करोड आठ लाख, उदयपुर मिनरल्सलाई एक करोड ७९ लाख बिगो मागदाबी गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर