सशस्त्र प्रहरीमा सरुवासम्बन्धी निर्देशिका लागू, अब बेस र बीओपी कमान्ड ६ महिनामा परिवर्तन

सशस्त्र प्रहरी बलले आफ्नो सरुवाबढुवालाई व्यवस्थित पार्न कार्यविधि तथा निर्देशिका लागू गरेको छ । संगठनभित्रको सरुवाबढुवालाई न्यायोचित एवं पूर्वानुमानयोग्य बनाउन सशस्त्र प्रहरीले ‘सशस्त्र प्रहरी कर्मचारीहरुको पदस्थापन, सरुवा तथा काजसम्बन्धी कार्यविधि २०७९ र सुरक्षा बेस अदलीबदली निर्देशिका २०७९’ लागू गरेको हो ।

यो कार्यविधि र निर्देशिका अनुसार अब सशस्त्र प्रहरीमा निश्चित गण, गुल्म, बेस, बीओपी लगायतको एक पटक कमान्ड पाएपछि अन्य अधिकारी पालो सकिएपछि मात्र पुनः कमान्ड पाइनेछ । यसबाट कुनै पनि संरचनामा पटकपटक र लामो समय कमान्ड लिने समस्या हट्ने र कमान्डका लागि यसअघि जस्तो शक्तिकेन्द्रमा दौडधूप पनि नहुने र भनसुन गर्नुपर्ने अवस्था पनि नरहने सशस्त्र प्रहरीले जनाएको छ ।

निर्देशिकाअनुसार नै सशस्त्र प्रहरीले एक महिनाअघि गणपति तथा गुल्मपतिहरुको सरुवा गरेको थियो । साथै अब बीओपी र बेस कमान्डहरु पनि ६–६ महिनामा परिवर्तन हुने भएको छ । यसअघि १ वर्षसम्म यस्ता संरचनाको कमान्ड परिवर्तन हुने गरेको थिएन ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्याल

लामो समयसम्म कमान्ड परिवर्तन नहुँदा सीमावर्ती क्षेत्रमा हुने चोरीतस्करी, भन्सार छली लगायत गतिविधिमा सशस्त्र प्रहरीकै संलग्नता रहने आरोप लाग्दै आएको छ । केही महिनाअघि सशस्त्र प्रहरीले तराईका जिल्लामा कार्यरत केही एसपीहरुलाई केन्द्रमा तानेर यसबारे सोधपुछ समेत गरेको थियो । नयाँ निर्देशिकाअनुसारको सरुवाले यस्ता समस्या हट्ने संगठनको दाबी छ ।

यसैअनुसार सशस्त्र प्रहरीले निर्वाचन आयोगको पूर्व सहमति लिई कमाण्ड अवधि पूरा भएका कार्यालयहरुमा काज सरुवा गरिएको जानकारी दिएको छ । संगठनले तयार पारेको कार्यविधि अनुसार हालसम्म कमान्डको अवसर प्राप्त नगरेका अधिकृतहरुलाई पहिलो प्राथमिकतामा र कम अवसर प्राप्त गर्ने अधिकृतहरुलाई दोस्रो प्राथमिकतामा राखी मूल्यांकनको आधारमा तयार पारिएको ज्येष्ठता अनुसार क्रमशः प्रस्तावित सीमा सुरक्षा गुल्म, बीओपी र अस्थायी सुरक्षा बेसहरुको कमान्ड जिम्मेवारी खटाइएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी पुरुषोत्तम थापाले पर्दाफासलाई जानकारी दिए ।

कमान्ड पूर्वानुमान सूचीमा सूचीकृत नभएर पनि सेवा अवधिका आधारमा अवकाश हुन कम समय बाँकी रहेका र विगतमा कम कमान्डको अवसर प्राप्त गर्ने अधिकृतहरुलाई समेत कमान्डको अवसर दिई जिम्मेवारीमा खटाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी पुरुषोत्तम थापा

यस्तै, सुरक्षा संवेदनशीलता लगायत पक्ष हेरी सशस्त्र प्रहरीले बीओपीको कमान्ड प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्ड रहने भएको छ । सशस्त्र प्रहरीले प्रस्ताव गरेअनुसार सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा १ सय १५ वटा बीओपी, डीएसपीको कमान्डमा २८ वटा बेस र इन्स्पेक्टर नेतृत्वको बेस ५१ वटा हुने जनाइएको छ ।

हाल सशस्त्र प्रहरीमा उत्तरतर्फ ८ र दक्षितर्फ २२० गरी २२८ वटा बीओपी छन् । पहाडी क्षेत्रमा बेस छन् । बीओपीमा सामान्यतया इन्स्पेक्टरको नेतृत्वमा ३५ जना रहने भए पनि त्यसअनुसार जनशक्ति भने छैन । यस्ता बीओपीका लागि सशस्त्र प्रहरीले ४८ गुल्मको प्रस्ताव गरेको छ । गुल्म मातहतमा बीओपी रहनेछन् । गुल्ममा सामान्यताय १६० जना सशस्त्र अधिकारी रहन्छन् ।

हालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले गत वैशाखमा कार्यभार सम्हाल्दै सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवं पूर्वानुमान योग्य बनाउने बताएका थिए । उनले पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गर्ने पनि बताएका थिए ।

‘हाल भएका कार्यविधिहरु र विभिन्न नयाँ कार्यविधिहरु निर्माण गरी व्यक्तिले नभई नीतिले संगठन चलाउने पद्धतिको सुरुवात गरिनेछ’ उनले त्यतिबेला भएका थिए । सोहीअनुसार अहिले कार्यविधि र निर्देशिका कार्यान्वयन गर्न उनी सफल भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर