उपप्रधानमन्त्री श्रेष्ठ र बेलायती सांसद शर्माबीच भेटवार्ता

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग बेलायतका सांसद वीरेन्द्र शर्माले शिष्टाचार भेटवार्ता गरेका छन्। सांसद शर्मा बेलायत-नेपाल सर्वदलीय सांसद समूहको सभापति हुन्।

सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच सम्बन्धको स्मरण गर्दै बेलायतको सेना र ब्रिटिश गोर्खा सेनाबीच समानता हुनुपर्ने धारणा राखेको उनका प्रेस संयोजक कमल गिरीले जानकारी दिए। उपप्रधानमन्त्री श्रेष्ठले समस्या समाधान गर्ने विषयमा चासो राख्दै यसमा सांसद शर्माबाट विशेष सहयोगको अपेक्षा गरेको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलकबाट स्तरोन्नति हुँदै गरेको प्रसंगमा बेलायती सरकारबाट प्राप्त हुने सहयोगको अपेक्षा गर्दै तथा नेपालले पाउँदै आएको सुविधा निरन्तर कायम राख्न अनुरोध गरे।

जलवायु परिवर्तनका विषयमा बेलायतले खेलेको भूमिकाको सराहना गर्दै उनले भने, ‘जलवायु परिवर्तनको असर र मार नेपालजस्तो मुलुकमा बढी परेको छ। यसमा बेलायतको भूमिका थप प्रभावकारी रहोस् भन्ने हाम्रो चाहना छ।’ उपप्रधानमन्त्री श्रेष्ठले बेलायत र नेपालबीचको व्यापार र पूर्वाधारमा बेलायतबाट हुने सहयोगका बारेमा चासो राखे।

भेटका क्रममा बेलायती सांसद वीरेन्द्र शर्माले ब्रिटिश गोर्खाको योगदान र भूमिकाको विषयमा आफू सकारात्मक रहेको बताउँदै समानता विषयमा आवश्यक आवाज उठाइरहेको बताएका थिए। बेलायतले असमान सुविधाको विषयमा सरकारी पक्षबाट अध्ययन भएको र आगामी तीन महिनामा यस विषयले निकास पाउने जानकारी दिँदै यसमा आफूले यथाशक्य सघाउने प्रतिबद्धता गरे।

उनले अतिकम मुलुकबाट स्तरोन्नति भएसँगै नेपालले प्राप्त गर्ने सहयोगलाई निरन्तरता दिने विषयमा आफू सकारात्मक रहेको जानकारी गराएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर