चोरीको मोटरसाइकलसहित काठमाडौंमा एक जना पक्राउ

चोरीको मोटरसाइकलसहित काठमाडौको चन्द्रागिरी नगरपालिका-१५ ढुंगेअड्डाबाट शनिबार एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । घादिङको गल्छी गाउँपालिका-४ घर भई हाल काठमाडौंको नैकाप बस्दै आएका ३२ वर्षीय राजेश लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०३-००५ प ४४ ६८ लाई परिवर्तन गरी बागमती प्रदेश ०२-०३५ प ७७ ३० राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित लामालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

मोटरसाइकलसहित पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त नयाँबानेश्वर बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ । २२० सिसीको पल्सर मोटरसाइकल काठमाडौँको सहयोगीनगरबाट गत कात्तिक २७ गते हराएको भनी कञ्चनपुरको वेदकोट नगरपालिका-४ घर भई हाल कोटेश्वर बस्दै आएका कृष्ण धानुकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारी धनी पनि विशेष चनाखो हुनुपर्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट बताउँछन् ।

सवारी चालक थप जिम्मेवार बनी सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरूको समेत प्रयोग गर्न उनको अनुरोध छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर