राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र बेलायतकाे लेबर पार्टीका सांसद शर्माबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग बेलायतकाे लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले भेट गरेका छन्।

सोमबार सिंहदरबारमा अध्यक्ष तिमिल्सिना र सांसद शर्माबीच दुई देशको संसदको सम्बन्धलाई औंपचारिक कार्यक्रममार्फत अघि बढाउने विषयमा केन्द्रित भएर भेटवार्ता भएको हो।

जनस्तरको सम्बन्धलाई अझ बढी सुमधुर बनाउन सक्ने भएकाले कार्यक्रममार्फत दुवै देशको संसदको गतिविधिलाई अघि बढाउने विषयमा आफूहरूबीच कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए। भेटपछि न्यूज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले द्विपक्षीय सम्बन्धका विविध विषयमा पनि कुरा भएको बताए।

त्यस क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको उल्लेख गर्दै नेपालको ऊर्जा क्षेत्र र पर्यटन क्षेत्रमा लगानी बढाउन पनि बेलायत सरकारसँग आग्रह गरेका छन्। त्यसैगरी नेपाल-बेलायत सीधा हवाई उडान गर्ने, बेलायतमा नेपाली विद्यार्थीहरूको अध्ययनका लागि अझै सहज वातावरणको निर्माण गर्नेलगायतका विषयमा छलफल गरिएको अध्यक्ष तिमिल्सिनाले बताए।

भेटमा अध्यक्ष तिमिल्सिनाले युरोपियन मुलुकहरूमा नेपालको हवाई सेवा सञ्चालनका लागि पहल गरिदिन पनि सांसद शर्माको ध्यानाकर्षण गराए। सांसद शर्मा नेतृत्वको टोलीले यसअघि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग पनि शिष्टाचार भेटवार्ता गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर