चलचित्र नरम कूटनीति हो : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चलचित्र क्षेत्रलाई नरम कूटनीतिको रूपमा चित्रण गरेका छन्।

सोमबार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को समापन समारोहलाई सम्बोधन गर्दै उनले चलचित्र क्षेत्र भनेको हरेक देशको नरम कूटनीतिक सम्बन्ध स्थापित गर्ने माध्यम भएको बताएका हुन्।

उनले समाज र देशको सबैभन्दा स्पष्ट ऐना चलचित्र भएकाले यसको विकास गर्न आवश्यक रहेको उल्लेख गरे। उनले साहित्य, कला, गीत, संगीत र प्रविधिको माध्यमबाट देशलाई चिनाउने चलचित्र क्षेत्र फरकफरक देशबीचको कूटनीतिक सम्बन्ध, सामाजिक र सांस्कृतिक सम्बन्धलाई स्थापित गर्ने माध्यम भएको बताए।

उनले हिन्दी, चिनियाँ र अंग्रेजीजस्तै नेपालमा पनि फिल्म निर्माताहरूले उत्कृष्ट चलचत्रिहरू दिन आवश्यक रहेको बताए। मौलिक संस्कृति, इतिहास, समाज र प्रकृतिको सम्पदामाथि फिल्म बनाउन उनले आग्रह गरे। चलचित्र क्षेत्रको विकास गर्न सके आर्थिक स्थिति पनि सुधार हुने उनले बताए।

त्यस्तै नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का अध्यक्ष केपी पाठकले नबोलीकन हेरेर समाज रूपान्तरण गर्ने माध्यम भनेको चलचित्र रहेको बताए। उनले सिनेमाका माध्यमबाट देशको आर्थिक उन्नति हुने बताए। उनले संस्कृति, पयर्टनका माध्यमबाट आर्थिक अवस्थामा सुधार गर्न सकिने बताए।

उनले सिनेमा सम्पूर्ण कलाकारहरूलाई समावेश गरेर अघि बढ्न सक्ने माध्यम भएको बताए। अध्यक्ष पाठकले नेपालमा भएका एयरलाइन्सहरूमा जहाज उड्दा विदेशी सिनेमा हेर्नुपर्ने अवस्था रहेको भन्दै जहाजमा नेपाली चलचित्रहरू देखाइनुपर्ने बताए।

अध्यक्ष पाठकले नेपालबाट उड्ने एयरलाइन्सले वर्षको ५ वटासम्म सिनेमा किन्ने वतावरण बनाइदिन मन्त्री किरातीलाई आग्रह गरे।

चैत २ देखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सम्पन्न भएको हो। नेपाली फिल्मतर्फ चलचित्र ‘प्रकाश’बाट प्रदीप खड्का र दिया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन्।

३५ देशका ९५ प्रतियोगी चलचित्र प्रतियोगी रहेको फेस्टिभलमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो। ५ दिनसम्म चलेको निफमा ९ वटा सेसन र तीनवटा मास्टर क्लास सम्पन्न भएका थिए। प्रो.डा. इतामी ब्रोजन (क्रोसिया), प्रेमेन्द्र मजुमदार (भारत) र लि. रान (चाइना)ले मास्टर क्लास सञ्चालन गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर