अख्तियारको छानबिनमा प्रहरी महानिरीक्षकका प्रत्यासी ज्ञवाली

नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको नागरिकता विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । नेपाल प्रहरीमा उमेर ढाँटेर जागिर खाएको विषय प्रमाणसहित उजुरी परेपछि अख्तियारले आइतबार (६ चैत २०७९) मा छानबिनका लागि गृह मन्त्रालयलाई पत्र पठाएको अख्तियार सम्बद्ध उच्च स्रोतले जानकारी दिएको हो ।

दुई साताअघि एआईजीमा बढुवा सिफारिस भएका ज्ञवाली लगायत प्रहरीको ५ अधिकारीलाई सोमबार मन्त्रिपरिषदको बैठकले एआईजी बढुवा गर्ने निर्णय गरेको थियो । सरकारले बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो । हालका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको कार्यकाल यही ११ चैतसम्म रहेकाले आगामी आईजीपीको प्रत्यासी यिनै ५ अधिकारी हुन् ।

याे पनि : डीआईजी श्यामलाल ज्ञवालीविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान, ‘सेफल्यान्डिङ’ रोज्न सुझाव

आईजीपीका प्रत्यासी ज्ञवालीविरुद्ध डीआईजी हुँदै अख्तियारमा उजुरी परेको हो । उनको भर्ना प्रक्रियामै त्रुटि रहेका कारण रद्दको मागसहित उजुरी परेको थियो । भर्ना मितिमा २५ वर्ष ननाघेको हुनुपर्नेमा ज्ञवालीले उमेर ढाँटेर भर्ना भएको उजुरीमा उल्लेख छ । अख्तियार उच्चस्रोतले उक्त उजुरीमा अनुसन्धान थालिएको पर्दाफासलाई जानकारी दिएको छ ।

पर्दाफासलाई विश्वसनीय स्रोतबाट प्राप्त उनका कागजपत्रहरुले केही कैफियत भएको देखिएको थियो । नागरिकतामा र शैक्षिक प्रमाणपत्रमा उमेर अन्तर देखिएको हो । अख्तियारमा परेको उजुरीमा ज्ञवालीले आफ्नो नागरिकतामा उल्लेखित वास्तविक उमेरभन्दा कम देखाएर राज्यलाई ढाँटी प्रहरी सेवा प्रवेश गरेको आरोप लगाउँदै उनीमाथि अनुसन्धान र कारबाहीको माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय प्यूठानले २ चैत २०४१ मा जारी गरेको नागरिकता प्रमाणपत्रमा उनी त्यतिबेला १७ वर्ष भएको उल्लेख छ । तत्कालीन प्रजिअ शम्भुप्रसाद खनालले जारी गरेको नागरिकता अनुसार उनको जन्ममिति २०२४ साल हुन आउँछ । नागरितामा जन्म महिना र गते खुलाइएको छैन । प्रहरीका अनुसार नागरिकताकै विवरण मानिने भएकाले उनको जन्ममिति २ चैत २०२४ हुन्छ ।

याे पनि : डीआईजी श्यामलाल ज्ञवालीको उमेर विवाद, यस्तो छ सत्यता

तर, ज्ञवालीले आफ्नो शैक्षिक प्रमाणपत्र र सिटरोलमा भने जन्ममिति २६ भदौ २०२५ उल्लेख गरेका छन् । नागरिकतामा उल्लेखित जन्ममितिभन्दा यो ५ महिना २४ दिनको फरक पर्छ । ज्ञवाली प्रहरीले जारी गरेको ९ मंसिर २०५० को सूचनाअनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका हुन् । इन्स्पेक्टरमा भर्नाका लागि उक्त सूचना जारी भएको मितिमा भर्ना वर्षको वैशाख १ गते २० वर्ष पुगेको र २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । तर, नागरिकताको जन्ममिति अनुसार उनी त्यतिबेला २५ वर्ष नाघिसकेको देखिन्छन् ।

उजुरीमा ज्ञवालीले काठमाडौंबाट लिएको प्रतिलिपि नागरिकता र प्रहरीको कर्मचारी प्रशासन शाखामा उनको अभिलेख हेरफेर नभएकोबारेमा अनुसन्धान गर्न र दोषी देखी कारबाही गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर