संवैधानिक आयोगहरूलाई जागिर खाने थलो नबनाऔं : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरूका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरूलाई जागिर खाने थलोको रूपमा विकास गर्न नहुनेतर्फ पनि सचेत गराए।

मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनलेसबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरूले सोहीअनुसार काम गर्नुपर्ने बताए। अध्यक्ष तिमिल्सिनाले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगहरूलाई आग्रह गरे।

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरू अनन्त कालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्षभित्रै त्यसको आवश्यकता नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराए। उनले आयोगका लागि आवश्यक स्रोत साधानको व्यवस्था गर्ने काममा कन्जुस्याइँ नगर्न सरकारको समेत ध्यानाकर्षण गराए।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिकका हक अधिकारको संरक्षण र संवर्द्धन गर्न आयोग प्रतिबद्ध रहेको बताए। उनले सबै संवैधानिक आयोगहरूसँग सहकार्य र समन्वय गरेर आयोगले आफ्नो कामलाई अघि बढाइरहेको दाबी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर