चुनौती सामना गर्दै सफल भइन्छ : किरण चेम्जोङ

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले छोटो समयको तयारी चुनौतीपूर्ण भएको र त्यसलाई स्वीकार गरेर घरेलु मैदानमा आयोजना हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता खेल्ने बताएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार आयोजना गरेको खेलअघिको पत्रकार सम्मेलनमा कप्तान किरणले तयारी छोटो समय भएको र चुनौतीपूर्ण रहेको बताएका हुन्।

भर्खरै मात्र घोषणा भएको टोलीमा खेलाडीहरू सबै फिट रहेको र बुधबार लाओससँग हुने खेलका लागि टोली तयार भएको प्रतिक्रिया उनले दिए। कप्तान किरणले प्रशिक्षक र टिम नयाँ भएको भए पनि एकअर्कालाई विश्वास गरेर अगाडि बढ्ने बताए।

यस्तै यसै प्रतियोगिताबाट डेब्यू गर्न लागेका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफूले राम्रो टोली निमार्ण गरेको बताए। तीन दिनको तयारी गर्दा टोलीमा अधिकांश युवा खेलाडी समेटिएको उनले बताए।

उनले लिगको दौरानमा खेलाडीको प्रदर्शनलाई नियाल्दै टोली निमार्ण गरेको र यो टोलीले राम्रो नतिजा दिलाउने बताए। एनिसले विपक्षी टिमको गुण आफूले देखेको र आफ्नो टिमको गुणसमेत जानकारी भएको बताउँदै सुखद् नतिजाका लागि खेल्ने बताए।

पहिलो खेलमा नेपालले बुधबार लाओससँग खेल्दैछ ।

यस्तै लाओसका प्रशिक्षक माइकल वेसले लिग चलिरहेको दौरानबाट टिम बनाएर प्रतियोगिताका लागि आएको भन्दै घरेली टोलीविरुद्ध राम्रो खेल्ने बताए। उनले भविष्यका लागि टिम बनाइरहेको भन्दै हाललाई लिगले गर्दा तयारी अपेक्षाअनुसारको गर्न नसकेको बताए। तर, नेपालविरुद्ध प्रतिस्पर्धात्मक खेल खेल्ने बताए।

लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले प्रतियोगिताका लागि पहिलोपटक नेपाल आउँदा खुशी लागेको बताउँदै प्रतियोगिताका लागि उत्साहित रहेको बताए। उनले प्रतियोगितामा लाओसको फुटबल देखाउने बताए।

यता पछिल्लो संस्करणको एशियाली खेलकुदपछि पहिलोपटक अन्तर्राष्ट्रिय भ्रमण गरेको भुटानका प्रशिक्षक पेमाले टोली प्रतियोगिताको तयारी राम्रो गरेको बताए। दुई महिनादेखि युवा खेलाडीलाई समेट्दै उपाधि उचाल्ने रणनीतिका साथ तयारी गरेको बताए। युवा खेलाडी समेटिएको भन्दै टोली सबै हिसाबले सक्षम भएको र शतप्रतिशत दिएर खेल्ने बताए।

भुटानी कप्तान चेन्चो ग्याल्सेनले नेपालमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आफू उत्साहित रहेको बताए। पछिल्लोपटक दक्षिण एशियाली खेलकुदमा नेपाली दर्शकले दिएको साथमा आपूm खुशी भएको र यहाँ हुन लागेको प्रतियोगिताका लागि उत्साहित रहेको चेन्चोले बताए। उनले टोलीमा केही अनुभवी खेलाडी समेटिएको र युवा प्रतिभावान खेलाडीको सम्मिश्रण रहेका राम्रो खेल हुने बताए।

सिंगल राउण्ड रोविन पद्धतिमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले चैत ८ मा लाओस तथा चैत १४ मा भुटानको सामना गर्नेछ। चैत ११ गते भुटान र लाओस भिड्नेछन्। नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनिसको प्रशिक्षणमा पहिलो प्रतियोगिता खेल्न लागेको हो।

प्रतियोगितका लागि टिकट दर सामान्य प्यारापिटतर्फ पाँच सय र भीआइपीतर्फ एक हजार राखिएको छ। यसअघि नेपालले २०७७ सालमा बंगालदेश र किर्गिस्तानलाई समेट्दै थ्री नेशन्स कपको आयोजना गरेको थियो। फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर