भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली युवतीहरूको उद्धार

मानव तस्करीको शिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० युवतीहरूको उद्धार गरिएको छ ।

बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्दामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा युवतीहरूलाई उद्धार गरिएको हो ।

उनीहरूलाई नेपाल प्रहरी, मानव बेचबिखन अनुसन्धान ब्यूरो, नेपाली राजदूतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त कारबाहीमा उद्धार गरिएको हो । ‘मिशन फ्ल्याट’ नामक अभियान चलाएर फ्ल्याटमा राखेर यौन धन्दामा लगाइएका १० जना युवतीहरूलाई उद्धार गरी मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई बुझाइएको हो ।

उद्धार गरिएका महिलाहरूको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष रहेको छ । उनीहरू नुवाकोट, काठमाडौं, कास्की, खोटाङ लगायतका जिल्लाका रहेको बताइएको छ । उद्धार गरिएकीमध्ये एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली पुर्‍याइएको र त्यहाँ पुगेपछि जबरजस्ती यौन धन्दामा लाग्नुपर्ने भनिएको बताएकी छन् ।

मिशन फ्ल्याटका बारेमा बताँउदै नेपाली राजदूतावासमा खटिएका एसएसपी उमाकान्त चतुर्वेदीले पोखराबाट ४ जना युवती हराएको भन्ने रिपोर्ट जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरो र प्रहरी महानिरीक्षकको सचिवालय हुँदै दिल्ली दूतावासमा आफूलाई प्राप्त भएपछि खोजीका लागि शक्ति समूह, कीन इण्डिया र स्थानीय पुलिससँग समन्वय गर्दा शक्ति समूहले हराएका ४ मध्ये १ जना युवतीलाई फेला पारेको र ती युवतीले हराएका बाँकी ३ जना रहेको स्थानको ठेगाना बताउँदा संयुक्त रूपमा गरिएको कारबाहीमा हराएका २ जनासहित थप ७ जना नेपालीहरू फ्ल्याटबाट फेला परेको बताए ।

कीन इण्डियाका प्रमुख नवीन जोशीका अनुसार युवतीले दिएको सूचनाका आधारमा उनीहरूलाई राखिएको फ्ल्याटमा कोही नभेटिएपछि अन्य फ्ल्याटमा छापा हान्नुपरेको र ४८ घण्टाको निरन्तरको खोजीपछि महिलाहरूको उद्धार गर्न सकिएको बताए । प्रारम्भिक अनुसन्धानमा नेपालमा रहेका सहयोगीहरूले भारतमा राम्रो तलबमा राम्रो काम दिने बहानामा नेपाली महिलाहरूलाई दिल्ली पुर्‍याउने गरेको र दिल्लीमा टीकाराम भण्डारी र उनकी श्रीमती टीका ओलीले उनीहरूलाई फ्ल्याटमा राखेर यौन धन्दामा लगाउने गरेको खुलेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *