को बन्दैछ नेपाल प्रहरीको नयाँ आईजीपी ?

नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिह्न प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वाेच्च पदमा पुग्दैछन्।

नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजीमा पदोन्नति भएका थिए।

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह यही चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन्। त्यसपछि रिक्त हुने आईजीपी पदमा हाल पदोन्नति भएका एआईजीबाटै बढुवा गर्नुपर्ने भएकाले अबको दुई दिनपछि नै पाँच एआईजीमध्ये एक जनाले महानिरीक्षकको फुली लगाउन पाउने महत्त्वपूर्ण अवसर प्राप्त गर्दै छन्।

काम गर्न सक्ने सक्षम, संगठनलाई कमाण्ड गर्न सक्ने, नेतृत्व दिन सक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले आईजीपी बनाउन सक्ने विद्यमान अवस्था रहेको पूर्वप्रहरी अधिकारी बताउँछन्।

‘मापदण्ड हेर्दा व्याख्याअनुसार जसलाई बनाए पनि हुने जस्तो देखिन्छ,’ पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले भने, ‘सरकारले राम्रै र सक्षम व्यक्तिलाई ल्याउँछ, यो नियमित प्रक्रिया हो जस्तो लाग्छ मलाई।’ पछिल्लो समयमा गृह मन्त्रालयले सरुवा-बढुवामा मापदण्ड नै बनाएर लागू गरेको छ।

सरकारले उपयुक्त व्यक्ति हो भन्ने व्याख्याका आधारमा गरेर पाँचमध्ये एकलाई आईजीपी बनाउन सक्ने देखिएको प्रहरी अधिकृतहरू बताउँछन्। सरकारले सिंहलाई गएको वैशाख १८ गते महानिरीक्षक पदमा पदोन्नति गरेको थियो।

प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने, नेतृत्व दिन सक्ने र आफूमुनिकालाई प्रोत्साहन गर्न सक्ने व्यक्तिलाई आईजीपी बनाउन सक्ने उल्लेख छ।

यही चैत १० मा प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंह अवकाश हुँदा उनीसँगै तीन एआईजी पनि अनिवार्य अवकाशमा जाँदै छन्। सिंहकै ब्याची एआईजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जानेछन्।

हाल बढुवा भएका एआईजीमध्ये एक जना महानिरीक्षकमा पदोन्नति भएपछि १० गते रातिपछि त्यो पदसहित गरेर चार एआईजीको पद पुनः रिक्त हुन्छ।

हालका महानिरीक्षक सिंहको अवकाशपछि रिक्त हुने चार एआईजीमा डीआईजी सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुने प्रहरी उच्च स्रोतको दाबी छ।

चैत ११ पछि बढुवा हुने महानिरीक्षकको कार्यावधि संशोधनका लागि प्रक्रियामा रहेको ३० वर्षे उमेर हद नहटाइएको खण्डमा वि.सं. २०८१ चैतसम्मको रहनेछ।

यसअघि महानिरीक्षकको बढुवामा राजनीतिक हस्तक्षेप भएको भनेर चर्काे आलोचनासमेत हुने गरेको थियो। पूर्वप्रहरी अधिकारी भने अब त्यसबाट मुक्त हुन जरुरी रहेको बताउँछन्। गृह मन्त्रालय स्रोतका अनुसार आउँदो मन्त्रिपरिषदको बैठकले सोमबार पदोन्नति भएका एआईजीमध्येबाट एक जनालाई प्रहरी महानिरीक्षकमा पदोन्नतिको निर्णय गर्नेछ।

एआईजीमा पदोन्नति भएकी किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलोपटक प्रहरीको सर्वाेच्च (महानिरीक्षक) पदको प्रतिस्पर्धी बन्ने महिला बनेकी छन्। यसअघि अतिरिक्त महानिरीक्षकमा पुगे पनि पूजा सिंह भने महानिरीक्षकको प्रतिस्पर्धामा सामेल हुन पाएकी थिइनन्।

बज्राचार्यसँगै डीआईजीमा बढुवा भएका मीरा चौधरी, दुर्गा सिंह र किरण राणा एआईजी बढुवामा नै पछि परेकाले उनले महानिरीक्षकको प्रतिस्पर्धामा एक्लो महिलाका रूपमा प्रतिस्पर्धी हुने अवसर प्राप्त गरेकी हुन्। -नारायण ढुंगाना/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर