ललितपुर मेयर्स कप क्रिकेटमा एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले बिहीबारबाट सुरु भएको ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा नेपाल एपीएफ क्लबले मधेस प्रदेशमाथि १० विकेटको सानदार जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो । मधेस प्रदेशले दिएको ५९ रनको लक्ष्य एपीएफले ७ ओभर ३ बलमा कुनै विकेट नगुमाई पूरा गरेको हो । अविजित पारी खेल्ने क्रममा एपीएफका लागि कप्तान सीता रानामगरले ४५ र ज्योती पाण्डेले ८ रन बटुल्दै साथ दिए । सीताले ३६ बलको सामना गर्दा ९ चौका प्रहार गरेकी थिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेस १९.४ ओभर समेटियो । एपीएफको कसिलो बलिङसामु निरीह बनेको मधेसका लागि साना प्रविनले सर्वाधिक २५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् । एपीएफका लागि सोनु खड्काले ४ र सीता राना ३ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत बिहीबार नै उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स-११ लाई ५१ रनले पराजित गरेको । सम्झना खड्काले ४५ बलमा अविजित ५२ रनको अर्धशतकीय इनिङ खेलेपछि सुदूरपश्चिमले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८६ रन बनायो । कसिलो बलिङसामु खुलेर खेल्न नसेकको ललितपुरका लागि लक्ष्मी चौधरीले सर्वाधिक २५ तथा हेलिसा गुरुङले १९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । यस्तै कञ्चन श्रेष्ठले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । सुदूरपश्चिमका लागि रितु कौनोजियाले २ विकेट लिइन् भने पाँच खेलाडी रन आउट भएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले पूरै २० ओभरमा ३ विकेट गुमाएर १ सय ३७ योगफल बनाएको थियो । सम्झना खड्काले ४५ बलमा अविजित ५२ रनको अर्धशतकीय इनिङ खेले । ४५ बलको सामना गरेकी सम्झनाले ६ चौका हिर्काएकी थिइन् । उनका अलावा कविता जोशीले अविजित २७ रनको पारी खेल्दा रुवि पोदारले २८ रन, कप्तान विन्दु रावलले १८ रन तथा रेवती धामी शून्य रनमा पेवेलियन फर्किएकी थिइन् । ललितपुरकी कृतिका मरासिनीले २ तथा सोनी पाख्रिनले १ विकेट लिए ।

गत माघमा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप-२०७९ को सेमिफाइनलमा स्थान बनाएका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपीएफ क्लब र मधेस प्रदेश तथा आयोजक ललितपुर मेयर-११ ले जारी प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ । चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ । प्रतियोगितामा शुक्रबार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल ९ बजे सुदूरपश्चिम र एपीएफ क्लब तथा १ बजे कोशी र ललितपुर मेयर्स-११ बीच कीर्तिपुर मैदानमा प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *