अवस्था ठीक नभएका सवारी साधन चलाउने २६ जना चालक कारबाहीमा

कीर्तिपुरमा आज गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २६ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

१ सय १५ भन्दा बढी सवारी साधन चेक गर्दा ह्याण्डब्रेक ठीक नभएका १९ वटा र लाइटहरू दुरुस्त नभएका ७ वटा गरी २६ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।

सवारी साधन मर्मतपश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने ट्राफिक प्रहरीले जनाएको छ ।

अवस्था ठीक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्नका लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक सुनिल मल्लको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौंको कीर्तिपुर क्षेत्रमा आज खटिएको थियो ।

नियमित रूपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन सञ्चालन गर्नसम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *