विकासका लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकासका लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताएका छन्।

बिहीबार एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय संगठन इफाप्का र नेपाल निर्माण व्यवसायी महासंघले संयुक्त रुपमा राजधानीमा गरेको अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हकमा पूर्वाधारमा पर्याप्त लगानी नभएको धारणा राखेका हुन्।

उनले पर्याप्त लगानी बाहेक निर्माण उद्योगमा गुणस्तरको अभाव तथा समयमा परियोजना नसकिने परिपाटी देखिएको पनि बताए। ‘पूर्वाधारमा लगानी’ विषयक अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत शैलीमा काम गरेका कारण पनि नेपालको निर्माण उद्योगमा चुनौती थपिएको बताए।

निर्माणमैत्री ऐन कानून नहुँदा निर्माण उद्योगमा समस्या देखिएको स्वीकार गर्दै उनले समय सापेक्ष ऐन कानुन बनाउन महासंघ जस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने बताए।

भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा विकास गर्न आफूले विभिन्न कार्यदल गठन गरी काम थालिसकेको श्रेष्ठले बताए।

इफाप्का समेत अध्यक्ष रहेका महासंघका अध्यक्ष रवि सिंहले नेपालमा मात्र नभएर विश्वभरी नै दिगो पूर्वाधार विकासको आवश्यकता बढ्दै गएको बताए। कमजोर वित्तीय अवस्था तथा प्रविधिका कारण नेपाल जस्ता मुलुकलाई दिगो विकासको लक्ष्य हासिल गर्न कठिन भएको अध्यक्ष सिंहको भनाइ छ।

इफाप्काका कार्यकारी निर्देशक लेभी भी एसपी रीतुले पूर्वाधारको क्षेत्रमा आ-आफ्नो अनुभव आदानप्रदान गर्न यस्ता कार्यक्रम निकै उपयोगी हुने बताए। विश्व वन्यजन्तु कोष नेपालका डा. घनश्याम गुरुङले नेपालमा द्रुत गतिमा पूर्वाधार निर्माण भइरहेको र यही बेला दीगो तथा गुणस्तरीय निर्माणमा ध्यान दिनुपर्ने बताए।

एसियाली विकास बैंक पूर्व उपाध्यक्ष डा. बिन्दुनाथ लोहनीले ठूलो आर्थिक वृद्धि चाहने हो भने पूर्वाधारमा गरिने लगानीमा पनि वृद्धि गर्नुपर्ने धारणा राखे। लोहनीले अबको समयमा सहरी विकासलाई प्राथमिकता दिँदा हरित पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए।

नेपालका वाणिज्य बैंकले दीर्घकालसम्म लगानी गर्न नसक्ने भन्दै उनले विश्व बैंक, एसियाली विकास बैंक, पूर्वाधार विकास बैंकमार्फत लगानी ल्याउन फाइदाजनक हुने उनले सुझाब दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर