नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि

नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो ।

पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत पुगेको तथ्यांक विभागले जनाएको छ । २०६८ को जनगणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो । जसमा पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो । तथ्यांक उपप्रमुख डा. हेमराज रेग्मीले जनगणना २०७८ अनुसार नेपालमा पुरुषको भन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशत रहेको बताए ।

रेग्मीका अनुसार नेपालमा २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेका छन् । उनले १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा बसोवास गर्ने गरेको बताए । यो संख्या २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोवास गरेको पाइएको थियो । जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ ।

रेग्मीले जनगणनामा सधैँको लागि देश छोडेर गएका व्यक्तिहरुको गणना नगरिएको बताउनु भयो । त्यस्तै परिवारका सबै सदस्य विदेशमा रहेकाहरुको पनि गणना गरिएको छैन । रेग्मीले उमेर समूहअनुसार १५ देखि १९ वर्षको उमेर समूहमा कुल जनसंख्याको सबैभन्दा बढी प्रतिशत रहेको बताए । २०६८ को जनगणनामा भने १० देखि १४ वर्षको बीचको उमेरसमूहका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *