बसन्तबहादुर कुँवर बने नयाँ प्रहरी महानिरीक्षक

सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरको बढुवा गरेको छ । आज अपराह्न बसेको मन्त्रिपरिषदको बैठकले कुँवरलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

अवकाश पाएका आईजीपी धिरजप्रताप सिंहको कार्यकाल आज (चैत १०) सम्म रहेको थियो । सिंहको आज नै प्रहरी प्रधान कार्यालयमा बिदाइ गर्ने कार्यक्रम छ । मन्त्रिपरिषदले प्रहरीको ३० औं आईजीपीको रुपमा कुँवरको बढुवा गरेको हो । उनले आफ्ना प्रतिस्पर्धी चार एआईजीलाई पछि पारेका छन् ।

दुई साताअघि गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले कुँवरसहित ५ जना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो भने गत बुधबार मात्र मन्त्रिपरिषदले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको थियो । एआईजीमा बढुवा भएको दुई दिनमा नै कुँवर आईजीपी बनेका हुन् ।

कुँवरको कार्यकाल हालको ३० वर्षे सेवा अवधिको प्रावधानअनुसार २०८१ चैतसम्म हुनेछ । उनी २०५१ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । डीआईजी रहँदा मधेस प्रदेश प्रमुख रहेका उनले प्रहरी प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए ।

त्यस्तै, एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समेत प्रमुख भएर उनले सफल कार्यकाल पूरा गरेका थिए । एसपी रहँदा नुवाकोट लगायत विभिन्न जिल्लामा रहेर उनले काम गरेका थिए । कमाण्ड कन्ट्रोलमा अब्बल र व्यावसायिक प्रहरी अधिकारीको रुपमा कुँवर परिचित छन् ।

आईजीपीको दाबेदारका अन्य एआईजीमा टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य थिए । कुँवर डीआईजी र एआईजीमा पहिलो वरियतामा बढुवा भएका थिए ।

अवकाश पाएका सिंहलाई गएको १८ वैशाखमा बढुवा गरिएको थियो । उनीसँगै एकै ब्याचका तीन एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनीले पनि अवकाश पाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर