एपीएफले लगातार दोस्रो जित निकाल्दा कोशी प्रदेशको सुखद् सुरुवात

कप्तान सीता राना मगरको अर्धशतकीय पारीको सहयोगमा शुक्रबार एपीएफले तेस्रो संस्करणको ललितपुर मेयर्स कप ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि १५ रनको रोमाञ्चक जित निकाल्दा दिनको दोस्रो खेलमा कोशी प्रदेशले सुखद् सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा एपिएफबाट पाएको १ सय २२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रन मात्र बनाएपछि एपीएफले जित पक्का गरेको हो । यससँगै एपीएफले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

एपीएफले दिएको लक्ष्यसहिज जवाफी ब्याटिङ गर्ने क्रममा सुदूरपश्चिमका लागि कविता कुँवरले ६० बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेलिन् । उनले तीन चौका र २ छक्का प्रहार गरिन् । कुवरका अलावा कविता जोशीले २६ रनको अविजित पारी खेलिन् । सम्झना खड्का १७ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका लागि सुमन बिष्टले २ तथा कप्तान सीता राना मगर र इन्दु बर्माले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले पूरै २० ओभरमा २ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । एपीएफका लागि कप्तान सीता राना मगरले ५९ बलमा अविजित ५४ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीताले ७ चौका प्रहार गरिन् । यस्तै इन्दु बर्माले ३७ बलमा ५ चौकाको मद्दतमा ४५ रन बनाउँदा ज्योती पाण्डे १३ रनमा रनआउट हुन पुगिन् । बलिङतर्फ सुदूरपश्चिमकी ईश्वरी बिष्टले १ विकेट लिइन् ।

यसअघि बिहीवार भएको आफ्नो पहिलो खेलमा एपीएफले मधेस प्रदेशमाथि १० विकेट फराकिलो जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गरेको थियो । यस जितपछि एपिएफ २ खेलबाट ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यता पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५१ रनले पराजित गरेको सुदूरपश्चिमको समान २ खेलबाट २ अंक छ । सुदूरपश्चिम तेस्रो छ ।

यस्तै शुक्रवारै सम्पन्न दिनको दोस्रो खेलमा कोशी प्रदेशले आयोजक ललितपुर मेयर्स-११माथि ७ विकेटको सहज जित निकालेको छ । त्रिवि मैदानमा नै भएको खेलमा ललितपुरले दिएको ६६ रनको सामान्य लक्ष्य कोशी प्रदेशले १२ ओभरमा ३ विकेट गुमाएर भेटाएको हो । उसका लागि अपसरी बेगमले अविजित २९ रनको पारी खेल्दा कप्तान रुबीना क्षेत्री १३ रन जोडिन् । स्मृति कटुवाल ९ रनमा पवेलियन फर्किंदा काजल श्रेष्ठ गोल्डेन डगआउट भइन् । बलिङतर्फ ललितपुरकी अस्मिना कर्मचार्यले २ विकेट निकाल्दा कृतिका मरासिनीले १ विकेट आफ्नो नाममा लेखाइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले १६.५ ओभरमा सबै विकेट गुमाएर मात्र ६५ रन जोड्नसक्यो । ओपनर लक्ष्मी चौधरीले सर्वाधिक २३ रन बनाइन् । यस्तै मनिषा उपाध्याय १० रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् । कसिलो बलिङ सामु निरिह बनेको ललितपुरका दुई खेलाडी शुन्य, तीन खेलाडी १ रनमा पवेलियन फर्किएका थिए । घातक बलिङ गरेको कोशी प्रदेशका लागि निशा साहले सर्वाधिक ३ विकेट लिइन् । यस्तै अपसरी बेगमले २ तथा अलिशा खडिया र सबनम राईले समान १÷१ विकेट लिए ।

यससँगै ललितपुरले लगातारका दुई खेलमा नतिजा सुम्पिएको छ भने कोशी प्रदेशले जारी प्रतियोगितामा विजयी शुरुवात गरेको छ । जितपछि कोशी प्रदेशले २ अंक जोड्दै दोस्रो स्थानमा अटाएको छ । २ खेल खेलेको ललितपुर तालिकामा अंक बिहीन छ ।

प्रतियोगितामा शनिवार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल मशेस प्रदेश र सुदूरपश्चिम प्रदेश तथा दोस्रो खेल कोशी र एपिएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *