पौरखी किसान : जाे कमाउँछन् वर्षकाे एक करोड

गरे के हुँदैन? इच्छाशक्ति र जाँगर भए सबै सम्भव छ। यही भनाइलाई चरितार्थ गरेका छन् सुनसरीको भोक्राहाका जब्बासा मियाले। भनेजस्तो काम र कमाई नभएपछि खाडी मुलुकबाट फर्किएका जब्बासा यतिबेला भने आफैं मालिक छन्।

इनरुवा–८ मा १३ बिगाहा जमिन भाडामा लिएर एकल लगानीमा काम थालेका उनी तेस्रो वर्षमा खेती गरिरहेका छन्। जसले उनलाई करोडपति बनाइसकेको छ।

मौसमी खेती गर्दै आएका उनले यतिबेला खेतमा काँक्रो र भान्टा फलाएका छन्। भाडाको जग्गामा केरा खेतीसँगै विभिन्न सागसब्जीको उत्पादन बेच्न उनलाई भ्याईनभ्याई छ। उनले मासिक २० हजारसम्म तलब दिएर २० जना कामदारलाई रोजगारी समेत दिएका छन्।

आफ्नो खेती र किसानी पेशामा दङ्ग उनी उब्जाउलाई बिस्तार गर्ने सोचमा छन्। विदेशमा भनेजस्तो नभएपछि फर्केर किसानी पेशामा लागेको बताउने जब्बासा वार्षिक १ करोड हाराहारीको आमदानी गर्ने गरेको सुनाउँछन्। जसबाट घरखेत जोड्दै गएको उनले बताए।

‘अर्काको अनुशासनमा बस्न र दुःख झेल्न किन विदेश जाने! आफ्नै माटोमा श्रम बगाए यहीँ छ सबकुच। परिवार, पैसा अनि शान्ति। केरा खेतीमा मनग्य आम्दानी छ। तरकारीमा खर्च कटाएर चार भागको तीन भाग आम्दानी गर्न सकिन्छ। कोही कसैले सिक्न चाहे आफूले जानेको सिकाउन सदैव तयार छु।’

जब्बासाले उत्पादन गरेको तरकारी अधिकांशजसो पूर्वका ठूला बजारमा पुग्ने गर्छ। तरपनि उनी स्थानीय बजारमा भारतीय व्यापारीको रजार्इंका कारण खुशी छैनन्। नेपाली उत्पादनले ठाउँ नै नपाउँदा आफू जस्ता किसान मार्कामा पर्ने गरेको उनको दुखेसो छ। उनले सरकारसँग साना किसानहरूलाई पनि हेरिदिओस् भन्ने अपक्षा राखे।

     

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *