देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक छ : गृहसचिव सिंह

गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक रहेको बताएका छन् । आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गर्दै उनले यस्तो बताएका हुन् ।

सचिव सिंहले अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरीले मात्रै अहिलेको समस्याको समाधान गर्ने उल्लेख गरे । उनले समाजमा प्राविधिक गतिविधिहरूमार्फत अपराधका घटनामा वृद्धि भइरहेकाले त्यसको समाधान गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र अठोटको आवश्यकता रहेको बताए ।

सचिव सिंहले अनुशासनहीनता, लापरबाही र भ्रष्टाचारजन्य क्रियाकलापहरूलाई शून्य सहनशीलतामा लैजानुपर्ने बताए । उनले प्रहरी प्रशासनमा सबैले देख्ने गरी सुधारको आवश्यकता रहेको बताए ।

सचिव सिंहले प्रहरी प्रशासनमा अझै पनि पूर्ण रूपमा सुधार नदेखिएको बताए । उनले प्रहरी प्रशासनको आन्तरिक सुदृढीकरण गरी समाजका बेथिति र अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नुपर्ने बताए ।

उनले भने, ‘अहिले अनुशासित र स्वच्छ प्रहरी हामीलाई चाहिएको छ । व्यावसायिक प्रहरी हामीलाई चाहिएको छ । धेरै बाधाहरू छन् हामीलाई थाहा छ । व्यावसायिक प्रहरी भन्नेबित्तिकै तालिमको कुरा छ, अन्य कुराहरू छन्, नयाँ प्रविधिको कुरा छ । तर, यी समस्या समाधानका लागि पदमा बस्ने कर्मचारीहरूको मनोबल र अठोट हुने हो भने त्यसमा पनि राम्रो गर्न सकिन्छ । अनुशासनहीनतालाई, लापरबाहीलाई र भ्रष्टाचारजन्य क्रियाकलापहरूलाई शून्य सहनशीलता बनाउनु हुनेछ । मन्त्रालय देखिने गरी सुधार भएको हेर्न चाहन्छ । विगतमा सुधारका क्रमहरू चलेका छन्, तर त्यो सुधार अझै पनि पूर्ण भएको जस्तो लाग्दैन । आन्तरिक सुदृढीकरण प्रमुख आधार रहेको छ । समाजका बेथितिहरू, अन्य गलत क्रियाकलाप नियन्त्रण गर्नलाई हामी आफैं कति सक्षम र सुदृढ छौं भन्ने कुराले महत्त्व राख्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर