तनहुँ-१ उपनिर्वाचन

राष्ट्रपतिको निर्वाचन क्षेत्रमा कसले मार्ला बाजी ?

देशको तेस्रो राष्ट्रपतिको रुपमा नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि उनी निर्वाचित तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुने भएको छ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि यही १२ चैतमा दल दर्ता गराउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति भइसकेपछि पौडेलको सांसद पद स्वतः गएको हो भने उनले कांग्रेससँगको आबद्धता पनि त्यागिसकेका छन् । २० चैतमा उम्मेदवारी दर्ता र २३ चैतमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने तनहुँ उपनिर्वाचनमा अहिलको सत्ता गठबन्धनबाट कांग्रेसको नै दाबेदारी हुने निश्चित नै छ ।

सत्ता गठबन्धनबाट कांग्रेसलाई माओवादी, नेकपा एसलगायत दलको साथ रहनेछ । कांग्रेसलाई चुनौती दिनेछ प्रतिपक्षी दल नेकपा एमालेले । एमालेलाई राप्रपाको साथ हुने सम्भावना छ ।

गत प्रतिनिधिसभा निर्वाचनमा पौडेल २५ हजार तीन सय १८ मत ल्याई विजयी भएका थिए । उनले एमालेका उम्मेदवार एकबहादुर राना मगरलाई हराएका थिए । मगरले १९ हजार ९ सय ४३ मत ल्याएका थिए । त्यतिबेला पनि माओवादी लगायतसँग कांग्रेसको गठबन्धन थियो । कांग्रेसकै नेता तर स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ मत ल्याएका थिए ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका उम्मेदवार विनोद घर्तीले २ हजार चार सय ८३ मत ल्याएका थिए । तनहुँ १ मा ६८ हजार १ सय ५८ मत खसेको थियो । गत निर्वाचनमा तनहुँ-१ मा एक लाख २३ हजार चार सय ९० मतदाता थिए । पौडेल यसअघिको २०७४ को चुनावमा यही क्षेत्रमा पराजित भएका थिए । त्यति बेला एमाले र माओवादीबीच गठबन्धन भएको थियो । पौडेल २०४८ देखि २०७० सम्मको निर्वाचनमा सोही क्षेत्रमा विजयी भएका थिए ।

हाल बनेको सत्ता गठबन्धनबाट कांग्रेसका नेता नै तनहुँ १ मा उम्मेदवार बनेमा जित हासिल गर्ने सम्भावना धेरै छ । २०७४ मा पौडेल हारेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित भएका थिए । त्यसबेला एमालेबाट उम्मेदवार बनेका श्रेष्ठ हाल नेकपा एसमा छन् । उनको पनि प्रभाव क्षेत्र भएकाले नेकपा एसको पनि समर्थन हुँदा कांग्रेस अझ बलियो हुने निश्चित छ ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्वपार्टी सभापति रघुनाथ पौडेल, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल आकांक्षी छन् । दुईपटक पार्टीको केन्द्रीय सदस्य हुँदा पनि आफूले अवसर नपाएकाले यो पटक आफूले टिकट पाउने केन्द्रीय सदस्य भट्टराईले बताए । भट्टराईले केही दिनअघिदेखि नै गाउँगाउँमा पुगेर मतदाता भेटघाट गरिसकेका छन् ।

‘पार्टीका सभापति शेरबहादुर देउवासँग पनि भेट गरिसकेको छु, उहाँले उपनिर्वाचनको तयारी गर्नु भनिसक्नुभएको छ, मैले टिकट पाउनेमा कुनै शंका छैन,’ उनले भने । पूर्वपार्टी सभापति पौडेलले तीन कार्यकाल जिल्लाको नेतृत्व गरेकाले आफूले टिकट पाउनुपर्ने भन्दै लबिङ थालेका छन् ।

संविधान सभा सदस्य पोख्रेलले २०४६ सालदेखि बहुदलीय व्यवस्था आएदेखि नै प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन लड्ने चाहना रहेको बताए । ‘अहिलेसम्म मैले प्रत्यक्ष निर्वाचन लड्ने अवसर पाएको छैन, यो पटक नेतृत्वले आफूलाई टिकट दिनेमा विश्वस्त छु,’ पोख्रेलले भने ।

एमालेका तर्फबाट राना, रामबहादुर गुरुङ, किरण गुरुङलगायत आकांक्षी छन् । गत मंसिरमा निर्वाचन लडेर पराजित भएका रानाले पार्टीले निर्णय गरेको खण्डमा उपनिर्वाचनमा उम्मेदवार बन्ने बताए ।

नेकपा एसले पनि उपनिर्वाचनमा दाबी गर्ने निर्णय गरेको छ । पार्टीका जिल्ला अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले गत निर्वाचनमा तत्कालीन गठबन्धनलाई विजयी गराउन खेलेको भूमिकाका आधारमा उपनिर्वाचनमा आफूहरूले उक्त सिट पाउनुपर्ने निष्कर्ष निकालेको छ ।

तनहुँ–१ बाट निर्वाचित तत्कालीन प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले गठबन्धनमा उक्त निर्वाचन क्षेत्र छाडेर बारा गएको र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेकाले अब उपनिर्वाचनमा नेकपा (एस)का तर्फबाट उम्मेदवारी दाबी गर्ने निर्णय भएको जिल्ला अध्यक्ष कार्कीले बताए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि वैशाख १० मा हुने उपनिर्वाचनमा कसैसँग गठबन्धन नगर्ने र आफ्ना उम्मेदवार उठाउने निर्णय गरिसकेकाले उसले पनि कांग्रेस र एमालेलाई चुनौती दिनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर