बारा-२ उपनिर्वाचन

उपेन्द्रलाई सीकेको चुनौती, अरू दलमा को-को छन् दाबेदार ?

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादव विजयी भएपछि बारा निर्वाचन क्षेत्र नम्बर २ को मैदान खाली भएको छ, जहाँ १० वैशाखमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनमा जसपाकै अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने सम्भावना अत्यधिक छ । गत प्रतिनिधिसभा निर्वाचनमा सप्तरी-२ मा यादव उम्मेदवार रहे पनि पराजित भएका थिए । त्यसैले जसपाको प्रभाव क्षेत्र रहेको बारा-२ बाट संसद् छिर्ने प्रयासमा यादव लागेका हुन् ।

तर, यादवलाई चुनौती दिन खडा भएको सीके राउत नेतृत्वको जनमत पार्टी । राउतले नै सप्तरी-२ मा यादवलाई पराजित गरेका थिए । यद्यपि, दुवै दल सत्ता गठबन्धनमा छन् । तर, उपराष्ट्रपति पदमा पनि दुवै दलले उम्मेदवारी दिएका थिए । पछिल्लो समय तराई मधेशमा उदाएको पार्टी जनमतले जसपा र लोसपालाई पछि पारेको छ । त्यसैले पनि यादवलाई सीकेको चुनौती पन्छाउन कठिन हुने देखिन्छ ।

त्यसैले जसपाले यस क्षेत्रमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै आएको छ । तर, गठबन्धनले यस विषयमा हालसम्म कुनै निर्णय गरेको छैन । यद्यपि, शनिबार भएको पदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले जसपालाई सहयोग गर्ने वचन दिइसकेको ब्रिफिङ गरेको छन् । यसअघि कांग्रेसले सो क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको थिएन, माओवादी उम्मेदवारलाई समर्थन गरेको थियो । यादवलाई कांग्रेससँग माओवादीको पनि समर्थन रहेमा भने सहज हुनेछ ।

तर, जनमतले त यस क्षेत्रमा उम्मेदवारी दिने निश्चितजस्तै छँदै छ नै अर्को मधेशवासी दल लोसपाले पनि उम्मेदवारी दिने सम्भावना उत्तिकै छ । जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले बारा-२ मा आफ्नो पार्टीबाट उम्मेदवारी पर्ने बताए । उनले भने, ‘गठबन्धन सरकार बनाउनका लागि बनेको हो, चुनाव गराउनका लागि होइन, गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गर्न लाग्दा हामीले पनि आफ्नो कुरा राख्नेछौं । हाम्रो दलका लागि सहमति नभए पनि उम्मेदवार उठाउँछौं ।’

गत प्रतिनिधिसभा निर्वाचनमा जसपाका यादव माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई पराजित गर्दै निर्वाचित भएका हुन् । यादवले १३ हजार ८२३ मत पाएका थिए भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार ४६८ मत पाएका थिए । त्यतिबेला स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ११ हजार ४३, अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार ७५०, स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले ७ हजार ६९८, जनमत पार्टीका राजेश साहले २ हजार ७२५ मत पाएका थिए । तेस्रो स्थानका यादव जसपामा फर्किसकेका छन् ।

गत निर्वाचनमा उठेका माओवादीका केन्द्रीय सदस्य कुशवाहले उपनिर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । माओवादी झिनो मतले हारेकोले फेरि चुनाव लड्नुपर्ने उनको तर्क छ । उनले गठबन्धनअनुसार जसपाले भाग पाए आफू स्वतन्त्र भएर चुनाव लड्ने दाबी गरेका छन् । उपनिर्वाचनका लागि २० चैतसम्म उम्मेदवार टुंगो लगाउनुपर्ने समयसीमा भएकाले जनमत र लोसपा भने हालसम्म छलफलमै छन् ।

लोसपाको शनिबार बसेको शीर्ष नेताको बैठकले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने र उम्मेदवारी दिने निर्णय गरेको छ । अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी र सर्वेन्द्रनाथ शुक्लबीच बिहीबार उम्मेदवारीका बारेमा छलफल भएको थियो । गत चुनावमा सर्लाहीबाट पराजित राजेन्द्र महतो पनि बारा २ मा सम्भावित उम्मेदवार हुनसक्ने चर्चा लोसपामा भए पनि निर्णय भएको छैन । एमाले भने यो क्षेत्रमा कमजोर छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यस क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरिसकेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *