उपेन्द्र यादवविरुद्ध सीके राउतले भित्र्याए माओवादी नेता

बारा–२ को उपनिर्वाचन नजिकिँदै गर्दा जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहलाई पार्टीमा भित्र्याएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कुशवाहले आफू जनमत प्रवेश गरेको जानकारी दिएका हुन् । उनले बारा–२ को उपनिर्वाचनमा उम्मेदवारी दिने पनि घोषणा गरेका छन् ।

उक्त क्षेत्रमा गत प्रतिनिधिसभा चुनावमा जनता समाजवादी पार्टी (जसपा) रामसहाय प्रसाद यादव कुशवाहलाई नै पराजित गर्दै निर्वाचित भएका थिए । यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । कुशवाहले गत निर्वाचनमा १३ हजार ४६८ मत पाएका थिए भने विजयी भएका यादवले १३ हजार ८२३ मत पाएका थिए ।

उपनिर्वाचनमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव आफैले उम्मेदवारी दिने तयारी गरेका छन् । प्रतिनिधिसभाको गत चुनावमा सप्तरीबाट उम्मेदवार रहेका यादवलाई राउतले नै पराजित गरेका थिए । उनलाई बाराबाट पनि निर्वाचित हुन नदिने योजनामा राउत छन् ।

कार्यक्रममा कुशवाहले बारा–२ का जनताको भावनाअनुसार चुनाव लड्न आफू जनमत पार्टीमा प्रवेश गर्नुपरेको बताए । जनताको भावना विपरीत माओवादी केन्द्रले उपेन्द्र यादवलाई उपचुनावमा लडाउने भएपछि आफूले सो पार्टी परित्याग गर्नुपरेको पनि कुशवाहले खुलासा गरे ।

उनले निर्वाचनमा हार व्यहोरेका यादव पदलोलुप भन्दै उपनिर्वाचनमा हराएर पठाउने चेतावनी समेत दिए । माओवादी पार्टीले आफूमाथि जालझेल र षडयन्त्र गरेकाले आफूले मधेश मुक्ति र देशका लागि केही गर्ने मनोविज्ञान बोकेको सिके राउत नेतृत्वको जनमत पार्टी रोज्नु परेको उनको भनाइ थियो ।

‘पार्टीभित्र म माथि यति षड्यन्त्र, यति जालझेल गरेर हामी जस्तो एउटा क्षमतावान् लिडरलाई जहिले पनि माइनस गरेर राख्ने सोचहरु भइराखेको थियो । त्यसैगरी राखिएको थियो । माओवादीभित्र गरिएको लगानी मैले ३५४ मतले पराजित भएको हुँ,’ उनले भने । कार्यक्रममा जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो पार्टी जनताको मात्रै नभई नेताको पनि उद्धार गर्ने पार्टी भएको दाबी गरे । कुशवाहाले २०६४ को संविधानसभा निर्वाचन जितेका थिए । बारा–२ मा १० वैशाखमा उपनिर्वाचन हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर