पर्दाफास टिप्पणी

सरकारको ‘हनिमुन पिरियड’ : कामभन्दा सत्ताको दाउपेच बढी

गत १० पुसमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल नेतृत्वको सरकारले ‘हनिमुन पिरियड’ अर्थात् सरकार गठनको १०० दिन पूरा गर्न अब ३ दिन मात्र बाँकी छ । यो अवधिमा विपक्षीले पनि नयाँ सरकारको काम हेर्न कुनै आलोचना नगर्ने चलन छ । सरकारले पनि यस अवधिमा आफ्नो काम र योजनालाई तीव्रता दिने र त्यही आधारमा सरकारको मूल्यांकन हुने गर्छ ।

तर, दाहाल नेतृत्वको सरकार गठन भएको १ सय दिन पूरा हुने क्रममा रहे पनि काम भने शून्य नै छ । अझ भनौं सरकारले यस बीचमा कुनै पनि गतिलो काम गर्न सकेको छैन न त योजना ल्याउन सकेको छ । त्यसमाथि सरकारमा मन्त्रीहरु नहुँदा विकास निर्माण मात्र नभई प्रशासनिक काम पनि ठप्प छन् ।

पछिल्लो ६ महिनामा सरकार तदर्थमा चलेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापछि काम चलाउ बनेको सरकार र त्यसपछि आएको नयाँ सरकारमा मन्त्रीहरु नै नहुँदा प्रधानमन्त्री स्वयंले १६ वटा मन्त्रालयको जिम्मा लिनुपरेको छ । त्यही कारण पनि मन्त्रालयगत हिसाबमा यसबीचमा कुनै प्रगति भन्न लायक काम हुन नसकेको हो ।

यसबीचमा सरकार निष्क्रिय हुनुको कारण हो, सत्ताको दाउपेच । गत चुनावबाट कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो ठूलो दल बन्यो । पहिलो दल कांग्रेसबाट सहयोग नपाएपछि माओवादी अध्यक्ष दाहालले एमालेसँगको सहकार्यमा सरकार गठन गरे । तर, सरकार गठनपछि एमाले र माओवादीबीचको गठबन्धन टुट्यो । सरकार गठनको दुई महिनामै माओवादीले फेरि कांग्रेससँग गठबन्धन गर्यो । यसबीचमा सरकारबाट एमाले, राप्रपा र रास्वपा दल बाहिरिए । राष्ट्रपति निर्वाचनका लागि बनेको नयाँ गठबन्धन बल्ल सरकारमा सहभागी हुन लागेको छ ।

राजनीतिक दलहरु सत्ताको दाउपेचमा लागिरहँदा देशको अर्थतन्त्र भने दयनीय अवस्थामा छ । अर्थतन्त्रको संकटका कारण बैंकहरुमा तरलता, व्यवसायी आन्दोलित, महँगी र उपभोक्तालाई दैनन्दिन नै सकसपूर्ण बन्दै गएको छ । सरकार गठनमै दलहरु व्यस्त भइरहँदा न्यायपालिकामा न्यायाधीश नियुक्ति, अन्य संवैधानिक निकायमा पदाधिकारी चयन जस्ता महत्वपूर्ण कामहरु भने अलपत्र परेका छन् ।

प्रधानमन्त्री दाहालले सुरुवातमै अबको आफ्नो कार्यकाल भाषणभन्दा काममा बढी लक्षित हुने बताएका थिए । यो कार्यकालमा भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने अठोट उनले सार्वजनिक रुपमा व्यक्त गरेका थिए । तर, यस अवधिमा उनले खासै काम गर्न नसकेको उनको सचिवालयले सार्वजनिक गर्ने सामाजिक सञ्जालका पोस्टबाट पनि देखिन्छन् ।

दाहालले आफ्नै छोरी गंगा दाहाललाई सचिवालयको प्रमुख बनाएका छन्, जुन सचिवालयले दाहालका भाषणका अंश र सामान्य प्रशासनिक काम र निर्देशनलाई पनि ठूल्ठूला उपलब्धि भन्दै ग्राफिक्स बनाएर प्रचार गर्दै आएको छ । यसबीचमा प्रधानमन्त्री दाहालले दुईपटक संसदबाट विश्वासको मत लिइसकेका छन् ।

सरकारको हनिमुन पिरियड खासगरी सत्ताको दाउपेच र सरकारको बचाउमा नै खेर गएको छ । गत निर्वाचनबाट कुनै पनि दलको बहुमत नआउँदा र धेरै दल सत्ताको जोडघटाउका लागि निर्णायक बन्दा त्यसको असर सरकारको काम कारबाहीमा परेको हो । अहिले सत्तापक्ष दलहरु सरकारका घटकहरुलाई मिलाई सत्ता जोगाउने र विपक्षी दल सत्ता गठबन्धन भत्काई सरकार गिराउने चलखेलमा लागेका छन् ।

सत्ताको अस्थिरताको यो असरले देशको अर्थतन्त्र मात्र नभई कूटनीतिक क्षेत्रमा पनि परेको छ । सरकार गठन र विस्तारको जोडघटाउमा अहिले खुला रुपमा अमेरिकासहित पश्चिमा शक्ति एकतर्फ र चीन अर्कोतर्फ देखिएको छ । अमेरिकासहित पश्चिमा देशहरु चीन घेर्न भौगोलिक दृष्टिले उपयुक्ति भूमि नेपाललाई मानेर उपस्थिति बढाइरहेका छन् । चीन पछि आफूलाई भविष्यमा पर्न सक्ने सम्भावित खतरालाई आकलन गरी र भारतलाई पनि घेर्न सहज हुने गरी नेपालमा उपस्थिति बढाउन खोजिरहेको छ । यो रस्साकस्सी अहिले नेपालको सरकार गठन र विस्तारमा पनि देखिएको हो । सत्ता गठबन्धन बलियो नभएमा आगामी दिनमा यस्ता समस्या देखिने र सरकारको अन्य थुप्रै दिन हनिमुन पिरियड झैं खेर जाने सम्भावना बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर