सरकारले पूर्णता पाएपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन र समृद्धिका पक्षमा सरकारले कामको सुरुआत गरिसकेको र त्यसलाई अब थप गति दिने विश्वास दिलाएका हुन्।

प्रधानमन्त्रीले भने, ‘आज मन्त्रिपरिषद विस्तार भएपछि सरकारका कामले गति लिन्छ। यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु। केही ठूला आयोजना र राष्ट्रले गौरव गर्ने निर्णय गर्नेछु।’

सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारी अरूभन्दा इमानदार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीलाई आग्रह गरे। जनतालाई सुशासनको अनुभूति दिलाउने काम कर्मचारीको भएकाले त्यसलाई इमानदार भएर कर्तव्यपथमा अगाडि बढ्नसमेत आग्रह गरे।

कर्मचारीको टे«ड युनियन चाहिन्छ कि चाहिँदैन भन्ने बहस भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतको अनुभव र राजनीतिक परिवर्तनमा कर्मचारीले खेलेको भूमिकालाई आत्मसात् गर्दै त्यसलाई कायम राखेर जानुपर्छ भन्ने पक्षमा आफू रहेको बताए। कर्मचारीतन्त्रमा रहेको बेथिति र अराजकता अन्त्य गर्दै जनतालाई गुणस्तरीय सेवा दिनसमेत उनले आग्रह गरे।

उनले सहमति नभए निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्न आग्रह गरे। उनले भने, ‘समझदारीका साथ नीति, योजना र कार्यक्रम पारित गर्नुस् र नेतृत्व चयन गर्नुस् भन्ने मेरो आग्रह छ। नेतृत्वमा टिको लगाउने प्रथाले फाइदा गरेको छैन। स्वस्थ प्रतिस्पर्धा गर्दा केही फरक पर्दैन। लोकतान्त्रिक प्रक्रियाबाट नै नेतृत्व चयन गर्दा राम्रो हुने देखियो।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *