आर्थिक समस्या समाधानका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ : अर्थमन्त्री महत

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लागेर समाधान गर्ने बताएका छन्।

शुक्रवार पद तथा गोपनियताको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्र समस्यामा रहेको भन्दै सम्पूर्ण राज्य संयन्त्र लागेर सुधार गर्ने बताएका हुन्।

उनले मुलुकको अर्थतन्त्र विभिन्न असरको कारण संकटमा रहेको भन्दै समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे। उनले सरकारको साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने बताए।

अर्थमन्त्री महतले सरकारले खर्च गर्न सक्ने क्षमता बढाएर लगानी बढाउँदै राजश्वको दायरा बढाउने उल्लेख गरे। उनले राजस्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने बताए।

उनले अर्थतन्त्रलाई आन्तरिक रूपमा चलायमान बनाउनका लागि मन्त्रालयले सक्रियता देखाउनुपर्ने आवश्यकता ठानेको बताए। उनले लघुवित्त र सहकारीहरूमा समस्यामा रहेको भन्दै राष्ट्र बैंकसँग समन्वय गरी सहकार्य गरेर समस्या समाधान गर्ने बताए।

अर्थमन्त्री महतले जनतामा छाएको निराशालाई आशामा बल्दै सकारात्मक सोचका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे। उनलेसंकटमा रहेको अर्थतन्त्रमा सुधार गर्न आफू जस्तोसुकै कठोर निर्णय गर्न पछि नपर्ने बताए। उनले पुँजीगत खर्च बढ्न नसकेको र बजारमा माग घटेको भन्दै चिन्ता व्यक्त गरे।

अर्थमन्त्री डा. महतले पहिलो निर्णयका रूपमा नगद प्रवाहसम्बन्धी समिति गठनसम्बन्धी फाइलमा हस्ताक्षर गरेका छन्। उनले सरकारको नगद प्रवाहअनुसार हरेक महिना कति आम्दानी भयो ? कति खर्च भयो ? त्यसको स्टेटमेन्ट तयार गर्नुपर्ने बताए। उनले यसमै आधारित रहेर समिति गठन गर्ने निर्णय गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर