२ सिटबाट ३०३ सम्मको यात्रा, बीजेपी यसरी बन्यो शक्तिशाली पार्टी

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) ले आज आफ्नो ४४ औं स्थापना दिवस मनाउँदै छ । सन् १९८० मा स्थापना भएको उक्त पार्टीले हाल केन्द्रदेखि भारतका आधा राज्यहरुमा सत्ताको नेतृत्व गरिरहेको छ । सन् १९८४ को लोकसभा चुनावमा दुई सिट मात्र जितेको बीजेपीले पछिल्लो पटक २०१९ को चुनावमा ३०३ सिट जितेर सत्तामा बलियो पकड जमाएको छ ।

स्थापनाका आधार

बीजेपीको इतिहास भारतीय जनसंघसँग जोडिएको छ । २१ अक्टोबर १९५१ मा दिल्लीमा जनसंघ स्थापना भएको थियो । जनसंघको सुरुवातमा डा. श्यामाप्रसाद मुखर्जीको भूमिका महत्वपूर्ण छ । अंग्रेज सरकारबाट स्वतन्त्रता पाएपछि पण्डित जवाहरलाल नेहरु नेतृत्वको सरकारमा मुखर्जी सहभागी थिए । तर, १९ अप्रिल १९५० मा उनले मन्त्रिमण्डलबाट राजीनामा दिँदै कांग्रेसको विकल्पमा राजनीतिक दल खडा गर्ने घोषणा गरे ।

मुखर्जीले राजीनामा दिनुको कारण थियो, नेहरू–लियाकत सम्झौता । भारत–पाकिस्तान विभाजनपछि लाखौं मानिसहरू बसाइँ सरेका थिए । दुवै देश भीषण दंगाबाट पीडित थिए, जसका कारण नेहरू–लियाकत सम्झौता भएको थियो । उक्त सम्झौतामा दुवै देशले आ–आफ्नो देशमा अल्पसंख्यक आयोग गठन गर्ने उल्लेख छ । मुस्लिम समुदायको पक्षमा सम्झौता भएको भन्दै उनले केन्द्रीय उद्योगमन्त्रीबाट राजीनामा दिएका थिए ।

महात्मा गान्धीको हत्यापछि राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) माथि पनि प्रतिबन्ध लाग्यो । त्यसपछि कांग्रेसको विकल्पमा कुनै अर्को दल हुनुपर्छ भन्ने जनमत बढ्दै गएको थियो । त्यही पृष्ठभूमिमा गठन भएको संघका संस्थापकहरु मुखर्जी, प्राध्यापक बलराज मधोक र दीनदयाल उपाध्याय थिए । देशमा समान नागरिक संहिता, गौहत्यामाथि प्रतिबन्ध र जम्मु कश्मीरबाट धारा ३७० अन्त्य संघको मुख्य मुद्दा थिए ।

लोकसभा चुनावमा भाग लिन थालेको जनसंघका पछिल्ला अध्यक्ष अटलबिहारी बाजपेयी, लालकृष्ण आडवाणी थिए । सन् १९७५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा आपतकाल लागू गरेपछि विरोधमा उत्रिएका जनसंघका नेताहरु पक्राउ परे । सन् १९७७ मा आपतकाल अन्त्य भयो । विपक्षी दल मिलेर जनता पार्टी बन्यो, जसमा जनसंघ पनि विलय भयो । सन् १९७७ को चुनावपछि मोरारजी देसाईको नेतृत्वमा जनता पार्टीको केन्द्रमा सरकार बन्यो । तर आपसी विवादले सन् १९७९ मा सरकार ढल्यो ।

आरएसएसको सदस्यता छोड्ने मुद्दामा उक्त पार्टीमा विभाजन आयो र सन् १९८० मा भारतीय जनता पार्टी (बीजेपी) गठन भयो । अटल बिहारी वाजपेयी, लालकृष्ण आडवाणीसहितका नेताले दिल्लीको फिरोजशाह कोटला मैदामा नयाँ पार्टीको घोषणा गरे । वाजपेयी बीजेपीको पहिलो अध्यक्ष बने ।

चुनावी संघर्ष

सन् १९८४ मा बीजेपीले पहिलोपटक लोकसभा चुनावमा भाग लिए पनि कांग्रेस नेतृ इन्दिरा गान्धीको निधनको सहानुभूतिका कारण परिणाम सन्तोषजनक आएन । अध्यक्ष बिहारी नै चुनावमा पराजित भए । त्यतिबेला बीजेपीको तर्फबाट गुजरातको मेहसाणाबाट एके पटेल र आन्ध्र प्रदेशको हनमकोडा सिटबाट सी जंगा रेड्डीले मात्र चुनाव जिते ।

सन् १९८६ मा आडवाणी बीजेपीको अध्यक्ष बनेपछि हिन्दूत्वको एजेन्डा अगाडि बढाइयो । जुन १९८९ को पालमपुर अधिवेशनमा बीजेपीले पहिलो पटक रामजन्मभूमि मुक्त गर्ने र विवादित स्थलमा भव्य राम मन्दिर निर्माण गर्ने प्रस्ताव पारित गरेको थियो । सन् १९८९ को लोकसभा चुनावमा बीजेपीले ८५ सिट जित्यो । कांग्रेसले हार बेहोरेको थियो भने राष्ट्रिय मोर्चाका वीपी सिंह प्रधानमन्त्री बनेका थिए । बीजेपीले वीपी सिंह सरकारलाई बाहिरबाट समर्थन गरेको थियो ।

आडवाणीको अध्यक्षताकालमा बीजेपी पहिलोपटक सत्तामा आयो । मार्च १९९० मा बीजेपीले राजस्थान, मध्य प्रदेश र हिमाचलमा एक साथ सरकार गठन गर्यो । भैरोव सिंह शेखावत राजस्थानको मुख्यमन्त्री, सुन्दरलाल पटवा मध्य प्रदेश र शान्त कुमार हिमाचल प्रदेशको मुख्यमन्त्री बने ।

सन् १९९१ मा मुरली मनोहर जोशी बीजेपीको अध्यक्ष बने । सोही वर्षको लोकसभा चुनावमा बीजेपीले १२० सिट जित्यो । राम मन्दिर आन्दोलनका कारण सन् १९९१ मा यूपीमा बीजेपी सत्तामा आयो र कल्याण सिंह मुख्यमन्त्री बने । ६ डिसेम्बर १९९२ मा कारसेवकहरूले बाबरी मस्जिद भत्काएर साविककै राम मन्दिर स्थापनाको पहल गरिएको थियो । जसका कारण देशभर साम्प्रदायिक तनाव र धेरै हिंसाका घटना भएका थिए । तर, त्यसपछि बीजेपीको ‘कमल’ देशभर नै फुल्न थाल्यो ।

बीजेपी सन् १९९६, १९९८ र १९९९ को लोकसभा चुनावमा सबैभन्दा ठूलो पार्टीको रूपमा उभिएको थियो । अटल बिहारी वाजपेयी पहिले १३ दिन र त्यसपछि १३ महिना प्रधानमन्त्री बने । यसपछि वाजपेयी साढे चार वर्षसम्म देशको प्रधानमन्त्री बने, किनभने बीजेपीले ६ महिनाअघि नै चुनाव गराएको थियो । सन् २००४ को आम चुनावमा भाजपाले पराजयको सामना गर्नुपरेको थियो र सन् २०१४ सम्म देशको सत्ताबाट निर्वासन भोग्नुपरेको थियो ।

मोदीको उदय

२०१४ को आम चुनावअघि गोवामा बीजेपीको राष्ट्रिय कार्यकारिणी बैठक भएको थियो, जसमा नरेन्द्र मोदीलाई चुनावी अभियानको प्रमुख बनाइएको थियो । यो चुनावमा बीजेपी २८२ सिटका साथ सत्तामा फर्कियो । यहीँबाट बीजेपीमा नयाँ युग सुरु भयो, जसलाई मोदी–शाह युग भनिन्छ । त्यसपछि एकपछि अर्को धेरै राज्यमा बीजेपीको सरकार बन्यो । डिसेम्बर २०१७ मा प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘जब इन्दिरा गान्धी सत्तामा थिइन्, कांग्रेसको सरकार १८ राज्यमा थियो, तर जब हामी सत्तामा छौं, हाम्रो सरकार १९ राज्यमा छ ।’

मार्च २०१८ सम्म बीजेपी २१ राज्यमा पुगेको थियो । यो बीजेपीको सर्वोच्च अवस्था थियो । २०१९ लोकसभा चुनावमा बीजेपीले २०१४ को तुलनामा ठूलो जित हासिल गरेको थियो । यस चुनावमा बीजेपीले ३०३ सीट जित्यो । गैरकांग्रेसले दोस्रो पटक बहुमत पाएको यो पहिलो पटक हो ।

संगठन र पदाधिकारी

बीजेपीका राष्ट्रिय अध्यक्षको मातहतमा राष्ट्रिय कार्यकारिणी र राष्ट्रिय परिषद् गरी दुई तह हुन्छन् । कार्यकारिणीमा संसदीय बोर्ड र केन्द्रीय चुनाव समिति हुन्छन् भने परिषद् मातहतमा प्रदेशस्तरीय परिषद् र प्रदेश कार्यकारिणी हुन्छन् । प्रदेश परिषद मातह प्रदेश अध्यक्ष र प्रदेश कार्यकारिणीमा जिल्ला कमिटी, मण्डल कमिटी, स्थानीय कमिटी, ग्राम–सहरी केन्द्र र सदस्य हुन्छन् । हाल बीजेपी अध्यक्ष जेपी नड्डा छन् ।

स्थापनाको ४४ वर्षमा २ सिटबाट ३०३ सम्म पुगेको बीजेपीको आगामी बाटो र भविष्य के होला त ? प्रधानमन्त्री मोदीले सन् २०१४ लाई सत्ता परिवर्तन मात्र नभई पुनर्जागरणको शंखनादको रुपमा इंगित गरेका थिए । उनले आगामी २५ वर्षको रोडम्याप पनि सार्वजनिक गरेका छन्, जसले बीजेपीको भविष्य निर्धारण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर