समिट अपार्टमेन्ट प्रकरण : पैसा र शक्तिको आडमा ठूला व्यापारिक घरानाले बलमिच्याइँ गर्दा क्षति !

ललितपुरको बखुन्डोल निवासी सुवास पाण्डे शनिबार घरमै थिए । अचानक भूकम्प गएको जस्तो महसुस भयो । घर नै भासिन लागेपछि परिवारमै भागदौड मच्चियो । सुवास, उनकी श्रीमती र आमा घाइते भए । घरबाहिर निस्केपछि थाहा भयो, नजिकै बन्न लागेको अपार्टमेन्टका कारण केही घरहरु भासिएका थिए । केही घरका भित्ता चर्किएर बस्नै नसक्ने गरी छियाछिया भएका छन् ।

‘सुरुमा त भूकम्प आएको जस्तो महसुस भयो । हाम्रो परिवारकै तीन जना घाइते भएका छौं । मेरो घुँडाभन्दा तलको भागमा चोट लागेको छ । घर पनि चर्किएको छ । छिमेकी एउटा घर त भासिएको छ,’ आइतबार पर्दाफाससँग सुवासले भने, ‘अहिले छलफल चलिरहेको छ । उहाँहरु (अपार्टमेन्ट निर्माणकर्ता) ले घाइतेको उपचारदेखि क्षतिपूर्तिको विषयमा सम्बोधन गर्छौं भन्नुभएको छ ।’

सुवासको जस्तै तनाव अहिले सो क्षेत्रका स्थानीयले भोग्नुपरेको छ । यसको कारण हो ललितपुर महानगरपालिकाको १ र २ क्षेत्रमा पर्ने उक्त अपार्टमेन्टको निर्माण । ललितपुर महानगरका अनुसार नक्सापास नै नगरी उक्त होटलसहितको अपार्टमेन्टको काम र प्रिबुकिङ सुरु गरिएको छ, जसका कारण अहिले अहिले स्थानीयले सास्ती र तनाव झेल्नुपरेको छ । एक वर्षको अवधिमा ३० फिटभन्दा बढी जमिन खनेपछि भासिएको हो ।

१६ हजार १९१.१५ वर्गकिलोमिटरमा निर्माणाधीन उक्त अपार्टमेन्टको नाम ‘द समिट होटल एण्ड रेसिडेन्स’ छ । होटल समिट रहेकै क्षेत्रको १६ रोपनीमा एक सय २९ वटा कोठा हुने गरी निर्माण थालिएको थियो । करिब ६ अर्बको लगानी रहेको उक्त परियोजनाका लागि वातावरणीय प्रभाव मूल्यांकन पनि गरिएको थियो । तर अपार्टमेन्ट बनाउने क्रम सुरु हुँदा नै वरपरका भाग भासिएको हो ।

याे पनि : हाेटल समिटले बनाउँदै गरेकाे नयाँ भवनका कारण छिमेकका घरहरू भासिए (फाेटाे फिचर)

अपार्टमेन्टसँगै पाँचतारे होटल बनाउने पनि योजना छ, जहाँ सेन्ट रेगिज ब्रान्डबाट लक्जरी होटल सञ्चालन गर्ने तयारी थियो । निर्माण कम्पनीले ११ तलासम्मको प्रि–बुकिङ गरिसकेको छ । यो परियोजनामा एनई ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठ, चौधरी समूहका विनोद चौधरी र अमृतरत्न शाक्यको संयुक्त लगानी छ ।

यी संरचना बनाउन निर्माण समूहले एक वर्षअघि ३ अर्ब रुपैयाँको रेटिङ गराएको थियो । इक्रा नेपालले समिट होटललाई एनपी एल डबल बी माइनस रेटिङ दिएको थियो । समग्र परियोजनाको लागतको ५० प्रतिशत लगानी अपार्टमेन्ट बिक्रीबाट उठाउने कम्पनी व्यवस्थापनको लक्ष्य छ । यसैका लागि समिट होटलले आफ्नो पुरानो संरचना ७३ कोठे चार तारे होटल भत्काएको थियो । नयाँ संरचना सन् २०२६ बाट सञ्चालनमा ल्याउने कम्पनीको लक्ष्य छ ।

यसरी भयो बलमिच्याइँ
स्थानीयका अनुसार त्यहाँ अपार्टमेन्ट निर्माण हुने भएपछि निरन्तर विरोध हुँदै आएको थियो । निर्माणाधीन संरचनाका लागि पुग्दो बाटो पनि थिएन । भौगोलिक हिसाबले पनि त्यति ठूलो भवन निर्माण त्यहाँ उपयुक्त नभएको स्थानीयको भनाइ छ । अर्कोतर्फ बखुण्डोलकै एक व्यक्तिको २४ आना जग्गा हत्याएर अपार्टमेन्ट बनाउन खोजेको पनि निर्माणकर्तामाथि आरोप छ ।

स्थानीय इन्द्रध्वज विष्टको नाममा रहेको कित्ता नम्बर ५८६ को २४ आनासहित जग्गामा ती संरचना बन्न लागेको हो । विष्ट उक्त जग्गा आफ्नो रहेको भन्दै २०६६ सालदेखि कानूनी लडाइँमा छन् । जग्गा कीर्ते हस्ताक्षर गरी समिटले आफ्नो नाममा ल्याएको उनको आरोप छ । स्थानीयले पनि निरन्तर विरोध गर्दै आएका छन् । जसका कारण निर्माण कार्य लम्बिँदै आएको थियो । सो क्षेत्र आवासीय भएकाले यति ठूलो भवन बनाउन नहुने उनीहरुको भनाइ थियो ।

तर डलर अर्बपति तथा कांग्रेस सांसद चौधरी र अन्य व्यापारीले शक्ति र पैसाको आडमा निर्माण अघि बढाएको स्थानीयको आरोप छ, जसका कारण अहिले यो दुर्घटना निम्तिएको उनीहरु बताउँछन् । कमजोर माटो रहेको जमिन र बाक्लो बस्ती रहेको कारण देखाउँदै स्थानीयले अपार्टमेन्ट बनाउन नहुनेमा जोड दिँदै आए पनि बलमिच्याइँ भएको आरोप लगाएका छन् ।

स्थानीयका अनुसार शनिबारको घटनापछि २ घरमा पूर्ण क्षति, एकवटा घर काम नलाग्ने गरी ढल्किएको र आठ दश घरमा क्षति पुगेको छ । २ वटा होटलमा समेत क्षति पुगेको छ । जमिन भसिएर अरू घरमा समेत क्षति हुने अवस्था छ । घरमै क्षति पुगेपछि स्थानीयको बिचल्ली भएको छ ।

नक्सापास नगरी काम र प्रिबुकिङ
चौधरीसहितको व्यापारिक समूहले अवैध रुपमा त्यहाँ निर्माण कार्य अघि बढाएको पुष्टि भवनको नक्सापास नहुनुले पनि पुष्टि गरेको छ । एक वर्षदेखि सो क्षेत्रमा डोजरले खनेर माटो झिक्ने र हालै जग हाल्ने काम पनि सुरु गरिएको थियो । यसरी काम गर्नका लागि नगर विकास समितिको कार्यालय ललितपुरबाट ‘पर्मिट लेटर’ लिनुपर्छ । त्यसपछि मात्र नक्सापासको प्रक्रिया अघि बढ्छ ।

याे पनि : समिट अपार्टमेण्ट प्रकरण : पीडितलाई क्षतिपूर्ति दिन र दोषीलाई कारबाही गर्न तोसिमाको माग

तर त्यस्तो लेटर हालसम्म जारी गरिएको छैन । त्यसअगावै लगानीकर्ताले १६० युनिटको परियोजना निर्माण थालेको खुलेको छ । साथै कम्पनीले प्रि-बुकिङ पनि खुला गरेको थियो, जसको ७० प्रतिशत अपार्टमेन्ट बिक्रीसमेत भइसकेको कम्पनीले दाबी गरेको छ । तर, ललितपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले पर्मिट लेटर जारी नभएको जानकारी दिए । उनले रोक्का पूर्जी पठाएकाे पनि बताए ।

ठूला भवन निर्माणका लागि काठमाडौं विकास उपत्यका प्राधिकरणको स्वीकृति पनि चाहिन्छ । प्राधिकरणले प्लानिङ पर्मिट लिएर नक्सापास गराएर मात्रै काम अघि बढाउन निर्देशन पनि दिएको थियो । तर त्यसलाई पनि उल्लंघन गरेको पाइएको छ । उक्त अपार्टमेन्टमा हालसम्म बैंकहरुले ३ अर्ब रुपैयाँ लगानी पनि गरेका छन् ।

के भन्छन् जनप्रतिनिधि ?
ललितपुर क्षेत्र नम्बर–३ की सांसद डा. तोसिमा कार्कीले शनिबार उक्त क्षेत्रको अनुगमन गरेकी छन् । उनले लगानीकर्ताको लापरबाहीका कारण घटना भएको भन्दै स्थानीयलाई लगानीकर्ताले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन् । साथै दोषीलाई पनि कडा कारबाही गर्नुपर्नेमा उनले जोड दिएकी छन् । ‘स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ । अवैध रूपमा यसरी अपार्टमेन्ट बनाउनेमाथि कडा कारबाही गर्नुपर्छ,’ उनले भनिन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नक्सापास नगरी निर्माण कम्पनीले अपार्टमेन्ट बनाइरहेको बताए । यसमा निर्माण कम्पनीको गल्ती देखिएको र उनीहरुलाई कारबाही गर्ने जानकारी दिए । उनले अझै घटनाको विस्तृत अध्ययन भइरहेको पनि बताए । ‘निर्माण कम्पनीले जबर्जस्ती अपार्टमेन्ट बनाएको देखिन्छ । गल्ती कम्पनीकै छ । उनीहरुकै कारण स्थानीय विस्थापित हुनुपर्ने अवस्था आयो । दोषीमाथि कारबाही हुन्छ,’ उनले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर