समिट अपार्टमेन्ट प्रकरण : नक्सापासविना काम थाल्ने लगानीकर्तालाई के हुन्छ कारबाही ?

ललितपुरको बखुण्डोल क्षेत्रमा मानवीय क्षति नै हुनसक्ने गरी ‘द समिट होटल एन्ड रेसिडेन्सेस्’ निर्माण भइरहेको शुक्रबार रातिको घटनाले देखाएको छ । घटनामा मानवीय क्षति नभए पनि केही घर भासिनुका साथै केही भत्किएका पनि छन् । अर्को शब्दमा भन्नुपर्दा कसैको ज्यानै जाने जस्तो ठूलो दुर्घटना पनि टरेको छ ।

यस्तै जोखिमको आकलन गर्दै उक्त स्थानमा ठूलो अपार्टमेन्ट बन्न नदिन स्थानीयले विरोध गर्दै आएका थिए । तर, स्थानीयको विरोधका बाबजुद र मानवीय तथा भौतिक क्षति हुनसक्ने सम्भावनालाई जान्दाजान्दै पनि निर्माणकर्ताले जबर्जस्ती निर्माण थालेका थिए, जसलाई समयमै रोक्न नसक्नुमा ललितपुर महानगरपालिकाको पनि कमजोरी देखिन्छ ।

मंगलबार संसद् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिफ शाहले दोषीलाई कारबाही गर्न माग गर्दै यही विषय उठाए । ‘जनताले एउटा टहरो बनाए पनि नगरपालिकाले आएर नक्सापास गरेको छ कि छैन भनेर चेक गर्नेले १६ तल्ले यत्रो भवनको डेभलपर्सले काम गर्दा नक्सा चेक गर्नुपर्छ कि पर्दैन ? कसको मिलेमतोमा भएको हो यो ?’ उनले प्रश्न गरे ।

‘राति १२ बजे घर ढल्दै गर्दा मानवीय क्षति भएको भए कसले व्यहोथ्र्यो, जीवनभर लगाएर जोडेको घर भासिँदा आम नागरिक उठिबास हुँदा कसले जिम्मा लिने ? यथार्थ छानबिन होस्,’ उनले भने ।

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले आइतबार घटनास्थलको अनुगमन गर्दै महानगरबाट पनि गल्ती भएको स्वीकारे । ‘अपार्टमेन्ट र होटल निर्माण कार्य गैरकानूनी छ, यसलाई तत्काल रोक्नु पर्छ । अवैध निर्माण भइरहँदा त्यसलाई रोक्न र नियन्त्रण गर्नमा महानगरपालिका पनि चुकेको छ,’ उनले भने । उनले घटनाको छानबिन गरेर निर्माणकर्तालाई कारबाही गर्ने पनि प्रतिबद्धता जनाए ।

मानवीय क्षति नै हुनसक्ने गरी नक्सा पास नै नगरी अपार्टमेन्ट निर्माण गरिरहेको लगानीकर्तालाई के कारबाही होला त ?

पुरानो समिट होटल भत्काएर सम्भ्रान्त वर्गलाई लक्षित गरेर निर्माण गर्न लागिएको उक्त अपार्टमेन्ट र होटलका लगानीकर्ता हुन्, नेपालका डलर अर्बपति, चौधरी ग्रूपका प्रमुख तथा कांग्रेस सांसद विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष, पूर्वमन्त्री तथा एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्य ।

१६ हजार १९१.१५ वर्गकिलोमिटरमा निर्माणाधीन उक्त अपार्टमेन्ट र होटलमा करिब ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ, जहाँ १३० कोठाको पाँचतारे होटल, १६० युनिट लक्जरी अपार्टमेन्ट हुनेछन् । त्यसका लागि ७ देखि १६ तलासम्मका ७ वटा संरचना बनाइने योजना छ ।

याे पनि : समिट अपार्टमेन्ट प्रकरण : पैसा र शक्तिको आडमा ठूला व्यापारिक घरानाले बलमिच्याइँ गर्दा क्षति !

ठूला व्यापारिक वर्ग, सत्ता र शक्तिको पहुँच भएका कारण निर्माणकर्तालाई कडा कारबाही हुनेमा स्थानीयको आशंका छ । ललितपुर महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले हाल अपार्टमेन्ट निर्माणको काम रोकिएको र खनिएको खाल्डो पुर्न लगाइएको पर्दाफासलाई बताइन् । ‘हामीले काम रोक्न लगाएका छौं, तत्काल निर्माण अघि बढ्दैन,’ उनले भनिन्, ‘अरु कारबाहीको प्रक्रिया पनि अघि बढाउँछौं ।’

उनका अनुसार यसरी नक्सापास नगरी भवन निर्माण गर्नलाई महानगरले बल्ल कार्यविधि तयार गर्दै छ । भवन निर्माण अनुमति तथा इजाजत सम्बन्धी कार्यविधि सम्बन्धित पालिकाले बनाउनुपर्ने हुन्छ । त्यसको अभावमा भवनसम्बन्धी स्थानीय तहको ऐनअनुसार ५ लाख रुपैयाँसम्म जरिवाना हुने शाक्यले बताइन् ।

स्थानीयका अनुसार त्यहाँ अपार्टमेन्ट निर्माण हुने भएपछि निरन्तर विरोध हुँदै आएको थियो । निर्माणाधीन संरचनाका लागि पुग्दो बाटो पनि थिएन । भौगोलिक हिसाबले पनि त्यति ठूलो भवन निर्माण त्यहाँ उपयुक्त नभएको स्थानीयको भनाइ छ । अर्कोतर्फ बखुण्डोलकै एक व्यक्तिको २४ आना जग्गा हत्याएर अपार्टमेन्ट बनाउन खोजेको पनि निर्माणकर्तामाथि आरोप छ ।

स्थानीय इन्द्रध्वज विष्टको नाममा रहेको कित्ता नम्बर ५८६ को २४ आनासहित जग्गामा ती संरचना बन्न लागेको हो । विष्ट उक्त जग्गा आफ्नो रहेको भन्दै २०६६ सालदेखि कानूनी लडाइँमा छन् । जग्गा कीर्ते हस्ताक्षर गरी समिटले आफ्नो नाममा ल्याएको उनको आरोप छ । स्थानीयले पनि निरन्तर विरोध गर्दै आएका छन् । जसका कारण निर्माण कार्य लम्बिँदै आएको थियो । सो क्षेत्र आवासीय भएकाले यति ठूलो भवन बनाउन नहुने उनीहरुको भनाइ थियो ।

तर डलर अर्बपति तथा कांग्रेस सांसद चौधरी र अन्य व्यापारीले शक्ति र पैसाको आडमा निर्माण अघि बढाएको स्थानीयको आरोप छ, जसका कारण अहिले यो दुर्घटना निम्तिएको उनीहरु बताउँछन् । कमजोर माटो रहेको जमिन र बाक्लो बस्ती रहेको कारण देखाउँदै स्थानीयले अपार्टमेन्ट बनाउन नहुनेमा जोड दिँदै आए पनि बलमिच्याइँ भएको आरोप लगाएका छन् ।

स्थानीयका अनुसार शनिबारको घटनापछि २ घरमा पूर्ण क्षति, एकवटा घर काम नलाग्ने गरी ढल्किएको र आठ दश घरमा क्षति पुगेको छ । २ वटा होटलमा समेत क्षति पुगेको छ । जमिन भसिएर अरू घरमा समेत क्षति हुने अवस्था छ । घरमै क्षति पुगेपछि स्थानीयको बिचल्ली भएको छ ।

याे पनि : हाेटल समिटले बनाउँदै गरेकाे नयाँ भवनका कारण छिमेकका घरहरू भासिए (फाेटाे फिचर)

चौधरीसहितको व्यापारिक समूहले अवैध रुपमा त्यहाँ निर्माण कार्य अघि बढाएको पुष्टि भवनको नक्सापास नहुनुले पनि पुष्टि गरेको छ । एक वर्षदेखि सो क्षेत्रमा डोजरले खनेर माटो झिक्ने र हालै जग हाल्ने काम पनि सुरु गरिएको थियो । यसरी काम गर्नका लागि नगर विकास समितिको कार्यालय ललितपुरबाट ‘पर्मिट लेटर’ लिनुपर्छ । त्यसपछि मात्र नक्सापासको प्रक्रिया अघि बढ्छ ।

तर त्यस्तो लेटर हालसम्म जारी गरिएको छैन । त्यसअगावै लगानीकर्ताले १६० युनिटको परियोजना निर्माण थालेको खुलेको छ । साथै कम्पनीले प्रि–बुकिङ पनि खुला गरेको थियो, जसको ७० प्रतिशत अपार्टमेन्ट बिक्रीसमेत भइसकेको कम्पनीले दाबी गरेको छ । तर, ललितपुर महानगरपालिकाका वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले पर्मिट लेटर जारी नभएको जानकारी दिए । उनले रोक्का पूर्जी पठाएको पनि बताए ।

ठूला भवन निर्माणका लागि काठमाडौं विकास उपत्यका प्राधिकरणको स्वीकृति पनि चाहिन्छ । प्राधिकरणले प्लानिङ पर्मिट लिएर नक्सापास गराएर मात्रै काम अघि बढाउन निर्देशन पनि दिएको थियो । तर त्यसलाई पनि उल्लंघन गरेको पाइएको छ । उक्त अपार्टमेन्टमा हालसम्म बैंकहरुले ३ अर्ब रुपैयाँ लगानी पनि गरेका छन् ।

१२ बुँदे सहमति

समिट अपार्टमेन्ट निर्माणको क्रममा घर भासिएका पीडित, ललितपुर महानगर, ग्रिनविच होटेल र समिट अपार्टमेन्टबीच आइतबार १२ बुँदे सहमति भएको छ । प्रभावितको समस्या तत्काल सम्बोधन गर्न उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ । आइतबार बसेको बैठकले प्रभावितका लागि १ करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको छ ।

याे पनि : समिट अपार्टमेण्ट प्रकरण : पीडितलाई क्षतिपूर्ति दिन र दोषीलाई कारबाही गर्न तोसिमाको माग

सहमति अनुसार प्रभावितलाई तत्काल बसोवासको व्यवस्थापन गर्न र ग्रिनविच होटेलसमेत भासिएकोले त्यहाँ काम गर्नेलाई खानबस्नको व्यवस्था गरिने भएको छ । यस्तै, रोडको आकस्मिक सहजीकरण कोष खडा गर्ने, घर चर्केका तथा भत्केकाहरूको मर्मत, निर्माण अपार्टमेन्ट व्यवस्थापन गर्ने र तत्काल अपार्टमेन्टले बाँकी निर्माणको काम नगर्ने सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर