आर्थिक बाटो थुनेर सडकमा चिनियाँ राजदूतको ‘स्टन्ट’

नेपाल–चीन जोड्ने नाकाहरुमा चीनले लामो समयदेखि अवरोध खडा गर्दा व्यापार व्यवसायमा असर पर्दै आएको छ । तर, यी समस्यालाई समाधान गर्न भन्दा पनि चीनका राजदूत छन सोङ भने सडक निरीक्षणमा निस्किएका छन् । सोङको टोली स्तरोन्नति हुँदै गरेको मुग्लिङ–पोखरा सडक खण्डको निरीक्षणमा पुगेको हो ।

नेपालमा चिनियाँ सरकार र कम्पनीहरुले विभिन्न आयोजनाको ठेक्का हात पार्दै आएका छन् । तर, त्यसलाई समयमै निर्माण पूरा नगर्ने, ठेकेदार नै बेपत्ता हुने जस्ता समस्या नेपाली पक्षले भोग्दै आउनुपरेको छ । सडक, जलविद्युत्, विमानस्थल, औद्योगिक क्षेत्र निर्माणको जिम्मा चिनियाँ पक्षले पाउँदै आएको हो ।

चिनियाँ पक्षले काममा ढिलाइ गरेका ताजा उदाहरण हुन् बुटवल–नारायणगढ सडक र मुग्लिङ–पोखरा सडक । यी सडकको विस्तार र कालोपत्रको काम सुरु भएको लामो समय बितिसकेको छ । तर, चिनियाँ ठेकेदार कम्पनीको लापरबाहीको कारण समयमै काम सम्पन्न हुन सकेको छैन ।

राजदूत सोङले निरीक्षण गरेको पोखरा खण्डको सडक राजधानी काठमाडौंलाई गण्डकी प्रदेशसँग जोड्ने मुख्य सडक हो । सडक ४ लेनको बनाउन एसियाली विकास बैंकले १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग गरेको छ । नेपाल सरकारले पनि ५ अर्ब ९० करोड रुपैयाँ लगानी गर्दै छ । सडकलाई दुई भागमा विभाजन गरी दुई चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन र यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनलाई जिम्मा दिइएको थियो ।

एउटा कम्पनीको गत वर्ष नै म्याद सकिएको छ भने अर्कोको आगामी भदौसम्म छ । तर, पूवी खण्डमा २० र पश्चिम खण्डमा ७ प्रतिशत मात्र काम भएको छ । सडक निर्माणमा ढिलासुस्तीले यात्रुले सास्ती खेप्दै आउनु परेको छ । बुटवल–नारायणगढ खण्डको काम पनि उस्तै छ ।

अघोषित नाकाबन्दी
सडक निरीक्षणमा निस्किएर ‘स्टन्ट’ देखाएका राजदूत सोङले खास भूमिका निर्वाह गर्नुपर्ने ठाउँ हो, नेपाल–चीन नाका । मुख्य रसुवागढी र तातोपानी नाकादेखि देशका अन्य चीनसँग जोडिएका नाकामा लामो समयदेखि अवरोध छ । चिनियाँ नेता आउँदा मात्र यी नाका केही सहज गरिन्छ । नाकामा अघोषित नाकाबन्दीका कारण नेपाल–चीन व्यापारमा असर पर्नुका साथै नेपाली व्यवसायीले पनि ठूलो नोक्सानी व्यहोर्दै आएका छन् । तर, आफूलाई नेपालको असल छिमेकी बताउने चीनले भने यस्ता समस्यामा नजरअन्दाज गर्दै आएको छ ।

हुम्ला, मुगु, गोरखाको लार्के, संखुवासभाको किमाथांका, ताप्लेजुुङको टिप्तालालगायत चीनसँग जोडिएका नाका केवल नाका मात्र नभई यहाँका स्थानीयको दैनन्दिन जीवनीसँग जोडिएका मार्ग पनि हुन् । तर, छिमेकी र मित्रराष्ट्र रुपमा आफूलाई चिनाउन खोज्ने चीनले यी नाकालाई सहज बनाउन उदासीन देखिँदा सीमा क्षेत्रका नागरिकलाई वर्षौंदेखि सास्ती खेप्दै आउनुु परेको छ ।

उदाहरणको रुपमा नेपाल–चीन सिमाना ओलाङचुङगोला गाउँपालिकाको नाका (टिप्ताला भञ्ज्याङ) साढे चारवर्ष वर्षदेखि बन्द छ । यो नाका खुलाउन माग गर्दै गत साउनमा त्यहाँको गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । गाउँपालिका अध्यक्ष राजन लिम्बूले पत्र लेखेर प्रशासन कार्यालयलाई सहजीकरणका लागि अनुरोध गरेका थिए ।

नाका बन्द भएपछि स्थानीय आर्थिक संकटमा परी जीविकोपार्जनमा समस्या भएको, बस्ती स्थानान्तरणको स्थिति सिर्जना भएको, महँगी चरम रुपमा बढेको पत्रमा उल्लेख छ । गाउँपालिका अध्यक्ष लिम्बूूले ओलाङचुङगोला, याङमा, घुन्सा र फलेका बासिन्दाको मुख्य आम्दानीको स्रोतजडिबुटी, गलैंचा र पशुचौपाया निर्यात गर्न नपाउँदा समस्या भएको बताएका छन् ।

केही वर्षयता नेपाल–चीन नाकामा नेपालतर्फबाट निर्यात ठप्प रहेको भन्सार विभागको तथ्यांक छ । चीनतर्फ विशेषगरी जडीबुडी, हस्तकलाका सामग्री र खाद्यान्न लगायत वस्तु निर्यात हुने गरेको थियो । तर, चीनले भूकम्प र कोरोना महामारीको कारण देखाउँदै नाका ठप्प पारेपछि निर्यात पनि बन्द भएको हो ।

विभागका अनुसार हाल उत्तरी क्षेत्रका रसुवाको केरुङ र सिन्धुुपालञ्चोकको तातोपानी नाका मात्र सञ्चालनमा छन् । यी नाकामा पनि गत भदौसम्म आयात ठप्प नै थियो । मान्छेको आवतजावत त चीनले हालसम्म पनि खुला गरेको छैन ।

रसुवा भन्सार कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारी र तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसी अझै नाकामा आयात निर्यात सहज नभइसकेको बताउँछन् ।

सामान्य अवस्थामा दुई देशबीच वार्षिक साढे दुई खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार रहेको भन्सार विभागको तथ्यांकबाट देखिन्छ तर चीनसँगको व्यापारमा जोडिएका नेपालका दुई भन्सार कार्यालय तातोपानी र रसुवागढीको अवस्था पछिल्ला वर्षहरूमा निकै कमजोर छ ।

कुनै समय गुल्जार रहने तातोपानी क्षेत्र भूकम्पपछि सुनसान हुँदा त्यहाँबाट व्यवसायी पलायन हुनुपरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठ बताउँछन् । ‘त्यहाँको व्यापार, होटल, पर्यटनलगायतको व्यवसाय ठप्प भएपछि व्यवसायी पलायनको विकल्प रहेन । ठूला व्यापारी मात्र होइन सानो व्यापार व्यवसाय चलाउने, सवारी चालक, लोड अनलोड गर्नेहरु बेरोजगार भए,’ उनले भने ।

नेपाल–चीन नाका प्रभावित भएको सात वर्ष भयो । कोरोनायताको चार वर्ष त यी नाका ठप्प नै छन् । यस अवधिमा चीनबाट राष्ट्रपति सी चिनफिङसहित उच्च अधिकारीको भ्रमण भएको छ । तर, समस्या भने समाधान हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *