सुडानमा सेना र अर्धसैनिक बलबीच किन हुँदैछ लडाइँ?

सुडानको राजधानी खार्तुममा शनिबार सेना र अर्धसैनिक बलबीच गोलीबारी र विष्फोट भएपछि स्थिति कठिन बनेको छ। यो भिडन्तमा कम्तीमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सेना र अर्धसैनिक बलबीच यो तनाव धेरै वर्षदेखि चलिरहेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार शनिबार शहरको मध्यभागमा रहेको सेनाको मुख्यालय वरिपरि गोली चलेको आवाज सुनिएको थियो।

सुडानको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले सेनासँग भिडन्त सुरु भएपछि शनिबार राष्ट्रपतिको दरबार, सेना प्रमुखको निवास र खार्तुम अन्तर्राष्ट्रिय विमानस्थल कब्जा गरेको रोयटर्स समाचार एजेन्सीले जनाएको छ।

यसअघि आरएसएफले खार्तुममा रहेको उनीहरूको एउटा शिविरमा हमला भएको बताएको थियो। सेनाले भने यसलाई अस्वीकार गर्दै आरएसएफका लडाकुहरूले सेनाको मुख्यालय कब्जा गर्न कोसिस गरिरहेको दाबी गरेको छ।

समाचार एजेन्सी एएफपीले सेनाका प्रवक्ता ब्रिगेडियर जनरल नबिल अब्दुल्लालाई उद्धृत गर्दै खार्तुम र सुडान वरपरका धेरै सैन्य शिविरहरूमा र्‍यापिड सपोर्ट फोर्सका लडाकुहरूले आक्रमण गरेको जनाएको छ।

‘लडाइँ जारी छ र सेनाले देशको रक्षाका लागि आफ्नो कर्तव्य पूरा गरिरहेको छ,’ अब्दुल्लाले भनेका छन्।

समाचार एजेन्सी रोयटर्सले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै उत्तरी सहर मेरोवेमा गोलीबारी भएको जनाएको छ। एजेन्सीका अनुसार अल अरबिया टीभीले त्यहाँको सैन्य शिविरबाट धुवाँ निस्किएको तस्बिरहरू प्रसारण गरिरहेको छ।

तस्बिर : राेयटर्स।

अक्टोबर २०२१ मा भएको विद्रोहपछि देश सेनाद्वारा सार्वभौम परिषदमार्फत चलिरहेको छ। आरएसएफको नेतृत्व काउन्सिलका उपाध्यक्ष जनरल मोहम्मद हमदान डगालोले गरेका छन्, जबकि सेनाको नेतृत्व जनरल अब्देल फताह अल-बुर्हानले गरिरहेका छन्, जो सार्वभौम परिषदको प्रमुख हुन्।

यस हप्ता तनाव बढेपछि आरएसएफले बिहीबार मेरोवेमा सैन्य शिविर नजिकै सेना तैनाथ गरेको थियो।

सुडानमा वर्षौंदेखि विवादमा रहेको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सलाई सेनामा गाभ्ने योजना छ। आरएसएफले त्यसलाई १० वर्ष पछिसम्म धकेल्न खोजेको थियो। तर, सेनाले त्यो दुई वर्षमा भई सक्नुपर्ने बताएको छ।

२०२१ मा ओमर अल-बशीरको सरकार जसले ‘कू’ अघि दुई वर्षसम्म सुडानमा शासन गरेको थियो, उसलाई सत्ताबाट हटाइयो र अन्तरिम सरकार अस्तित्वमा आयो। अन्तरिम सरकार गठन भएपछि सेना र नागरिक सरकारबीच झगडा भएको थियो, त्यसपछि २०२१ मा ‘कू’ भयो।

जनरल बुरहानले प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने विवाद समाधान गर्न आफ्नो सेकेन्ड-इन-कमान्डसँग वार्ता गर्न तयार रहेको बताएका छन्।

पश्चिमी देशहरू र क्षेत्रीय नेताहरूले दुवै पक्षलाई तनाव कम गर्न र नागरिक शासन पुनर्स्थापना गर्न वार्ताको टेबलमा फर्कन आह्वान गरेका छन्। शुक्रबार दुई पक्षबीचको अवस्था समाधान हुने संकेत देखिएको थियो।

तस्बिर : राेयटर्स।

अमेरिकी राजदूत जोन गोडफ्रेले ट्वीट गरेर वरिष्ठ सैन्य नेताहरूलाई तत्काल प्रभावबाट लडाई रोक्न भनिएको छ।

शहरको अवस्था बताउँदै उनले गोली र झडपको आवाजले आफू ब्युँझिएको बताए । ‘यस समयमा म दूतावासको टोलीसँग सुडानका मानिसहरू खार्तुम र अन्य ठाउँहरूमा बसिरहेको ठाउँमा शरण लिइरहेको छु’ उनले भने।

रुसको दूतावासले पनि बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी दूतावासले दुवै पक्षलाई द्वन्द्व रोक्न आग्रह गरेको छ।

गोलीबारी र झडपलाई ध्यानमा राख्दै सुडानस्थित भारतीय दूतावासले सुडानमा रहेका सबै भारतीयहरूलाई घरभित्रै बस्न सल्लाह दिएको छ।

दूतावासले ट्वीट गर्दै मानिसहरूलाई अत्यधिक सावधानी अपनाउन, घरभित्रै बस्न र तत्काल प्रभावबाट घरबाहिर ननिस्कन आग्रह गरेको छ। -एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर