उद्योग वाणिज्य महासंघमा साना व्यवसायीहरूको प्रतिनिधित्व बढाउने गरी काम गर्छु : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पदबहाली गरेका छन्। आइतबार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा उनले अध्यक्ष पदको पदबहाली गरेका हुन्।

महासंघको वरिष्ठ उपाध्यक्षमा रहेका ढकाल महासंघको विधानअनुसार स्वतः अध्यक्ष भएका हुन्। ढकालले गत बिहीबार निर्वतमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। ढकालले गत बिहीबार नै पद तथा गोपनीयताको शपथ लिए पनि आइतबार मात्रै अध्यक्षको पदबहाली गरेका हुन्।

अध्यक्ष ढकालले साना व्यवसायीले पनि महासंघको नेतृत्व गर्न सक्छ भन्ने उदाहरण आफैँ भएको बताए। उनले नागरिकको अपेक्षा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसायको रूपमा काम गर्दा सफल हुने बताए।

अध्यक्ष ढकालले इमानदारिताका साथ काम गर्दै जाँदा साना व्यवसायी पनि महासंघमा पुग्न सक्ने बताए। उनले कतिपय व्यवसायीहरूलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने चिन्ता रहेको भन्दै आफू सानो व्यवसायबाट नेतृत्वमा आएकाले साना व्यवसायीहरूको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्ने प्रतिबद्धता जनाए।

उनले महासंघको नेतृत्वमा रहँदासम्म ५ काम गर्ने प्रतिबद्धता गरे। उनले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउन पहल गर्ने बताए। उनले उद्योग व्यवसायमा आन्तरिक तथा वैदेशिक लगानीको वातारण बनाउन नसकिने भन्दै सरोकारवाला पक्षहरू सरकार, नियमनकारी निकायसँग निजी क्षेत्रको तर्फबाट पहल गर्ने बताए।

उनले सरकार र निजी क्षेत्रबीच साझेदारी भए मात्रै व्यावसायिक गतिविधिहरू बढ्ने भन्दै सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउने प्रतिबद्धता जनाए। उनले नेपाल सरकार र दातृनियकासँग समन्वय गरी मुलुकभित्र रहेका र वैदेशिक रोजगारीमा जाने जनशक्तिलाई दक्ष बनाउने काम गर्ने बताए।

उनले पछिल्लो समय नागरिक र सरकारले व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै व्यवसायीलाई हर्ने दृष्टिकोण सकारात्मक बनाउने बताए।

त्यस्तै महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकालले सार्वजनिक गरेका ५ प्रतिबद्धतामा साथ दिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए। गोल्छाले अध्यक्ष ढकालले महासंघको नेतृत्व लिँदै गर्दा लिएका उद्देश्य पूरा गर्न सबैभन्दा नजिकको सहयोगी बनेर सहयोग गर्ने बताए। उनले अनुभवी र सानो व्यवसायबाट ठूलो व्यावसायिक समूहमा पुगेको अनुभवले महासंघ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे।

उनले महासंघमा आएको नयाँ टिमले अब देशको अर्थतन्त्र कसरी माथि लैजाने भनेर काम गर्ने विश्वास रहेको बताए। उनले ढकालको नेतृत्वको टिम महासंघमा सफल हुने पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर