‘डन’ बन्ने चाहनामा पूर्वसांसद दाजुभाइको गोली हानेर हत्या!

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा शनिबार राति कडा प्रहरी सुरक्षाबीच सञ्चारकर्मीसँग कुरा गरिरहेका बेला अतीक अहमद र उनका भाइ अशरफको केही आक्रमणकारीले गोली हानी हत्या गरे।

हालसम्म उत्तर प्रदेश प्रहरीले हत्याको कारणबारे कुनै जानकारी दिएको छैन। यद्यपि प्रहरीले हत्याको पुष्टि गर्दै यस घटनामा तीन जनालाई पक्राउ गरेको जनाएको छ।

उत्तर प्रदेशको एक प्रमुख हिन्दी अखबार ‘दैनिक जागरण’ले आफ्नो वेबसाइटमा दिएको समाचारमा आक्रमणकारीहरूको कथित ‘कबुलनामा’ प्रकाशित गरेको छ। यसरी प्रहरीकै सामुन्ने पूर्वसांसद दाजुभाइको हत्या गर्ने व्यक्ति को थिए त?

दैनिक जागरणका अनुसार गोली चलाउने अभियुक्तले प्रहरीसमक्ष आफ्नो बयानमा भनेका छन्, ‘माफिया अतीकको पाकिस्तानसँग सम्बन्ध थियो। उसले र उसको गिरोहका सदस्यहरूले धेरै निर्दोष मानिसहरूको हत्या गरेका थिए। अतीक जमिन हडप्न हत्या गर्थे र उनका विरद्धमा बोल्नेलाई पनि छोड्दैनथे। उनका भाइ अशरफले पनि त्यस्तै गर्थे, त्यसैले हामीले दुवैलाई मार्‍याैं।’

दैनिक जागरणका अनुसार गोली चलाउने तीनै अभियुक्त विभिन्न मुद्दामा पहिले नै जेल परिसकेका छन्। अभियुक्त कहिले र कसरी प्रयागराज आएका थिए भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

गोली चलाउँदै आक्रमणकारी। तस्बिर : एएनआई।

जेलमा भएको थियो तीन आक्रमणकारीको मित्रता
हिन्दी दैनिक ‘हिन्दुस्तान’ ले पनि तीनै आक्रमणकारी शरारती अपराधी भएको बताएको छ। हत्या, डकैतीलगायतका गम्भीर आरोपमा तीनै जना जेल परेका छन्।

आक्रमणकारीहरू जेलमै साथी बनेको अखबार ‘हिन्दुस्तान’ले लेखेको छ। अखबारका अनुसार तीनै जना अतीक र अशरफको हत्या गरेर डन बन्न चाहन्थे।

आक्रमणकारीको पहिचान भइसकेको अखबारले लेखेको छ। तीमध्ये एक हमीरपुरका, एक कासगञ्ज र एक बन्दाका हुन्।

अखबारले प्रहरी स्रोतलाई उद्धृत गर्दै तीनै जना सानो अपराधमा जेल जाँदा ख्याति नकमाएपछि ठूलो काम गर्ने सोचमा रहेको उल्लेख गरेको छ। यहीबीच तीनै जनाले अतीक र अशरफ अहमदलाई प्रहरी हिरासतमा अस्पताल लगिएको थाहा पाए। तीनै जनाले ठूलो नाम कमाउने उद्देश्यले हत्या गर्ने षड्यन्त्र गरेका थिए।

अखबारका अनुसार तीनै जनाले हत्याको योजना बनाएका थिए र आक्रमण हुनुअघि शुक्रबार अस्पताल पुगेर रेकी गरेका थिए। यसपछि शनिबार तीनै जनाले सञ्चारकर्मी बनेर अतीक र अशरफ अहमदलाई नजिकैबाट गोली हानेर हत्या गरेका थिए।

‘हिन्दुस्तान’ को समाचारअनुसार तीनै आक्रमणकारीका आफन्तलाई पनि हिरासतमा लिइएको छ। आक्रमणकारीबाट तीन थान पेस्तोल बरामद भएको छ।

अतीक अहमद। तस्बिर : एएनआई।

शनिबारको घटनापछि प्रहरीले पनि प्रारम्भिक जानकारीका आधारमा आक्रमणकारीबाट केही हतियार फेला परेको बताएको छ।

शनिबार राति प्रहरीले अतीक अहमद र उनका भाइ अशरफ अहमदलाई मेडिकल चेकअपका लागि क्याल्भिन अस्पताल लगेको थियो। दुवैलाई पाँच दिनको म्याद थप गरिएको थियो। सोहीबीच प्रहरीको सुरक्षा घेराभित्र पसेर आक्रमणकारीले उनीहरूमाथि गोली प्रहार गरेका थिए।

अतीक उनका भाइले मिडियाका प्रश्नहरूको जवाफ दिइरहेका बेला आक्रमण भएको थियो। यसैबीच एक आक्रमणकारीले अतीक अहमदलाई उनको कञ्चटमा पेस्तोल ताकेर गोली हाने र त्यसपछि अशरफलाई पनि कैयौं पटक गोली हाने। गोलीबारीपछि आक्रमणकारीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

प्रहरीका अनुसार यस आक्रमणमा एक प्रहरी र एक पत्रकार पनि घाइते भएका छन्। हत्यापछि उत्तर प्रदेशका सबै जिल्लामा धारा १४४ लगाइएको छ र प्रहरी बल गस्तीमा छ।

अतीक अहमद पूर्वसांसद थिए। उनका भाइ पनि पूर्वविधायक थिए। दुवै भाइको लामो आपराधिक इतिहास छ।

अतीक अहमदको आपराधिक रेकर्ड
अतीक अहमदको आपराधिक इतिहासमा १०० भन्दा बढी मुद्दा दर्ता छन्। मिडिया रिपोर्टका अनुसार उनीविरुद्ध सन् १९७९ मा पहिलो पटक हत्याको मुद्दा दर्ता भएको थियो। त्यतिबेला अतीक अहमद नाबालक थिए।

सन् १९९२ मा इलाहाबाद प्रहरीले बिहारमा पनि अतीकविरुद्ध हत्या, अपहरण, जबरजस्ती असुलीका करिब चार दर्जन मुद्दा दर्ता भएको बताएको थियो।

प्रयागराजका अभियोजन अधिकारीका अनुसार अतीक अहमदविरुद्ध सन् १९९६ देखि ५० वटा मुद्दा विचाराधीन छन्। १२ वटा मुद्दामा अतीक र उनका भाइ अशरफका वकिलले निवेदन दिएका कारण अभियोग दायर हुन नसकेको अभियोजन पक्षले जनाएको छ।

अतीक अहमद बीएसपी विधायक राजु पाल हत्याका मुख्य आरोपी थिए। घटनाको अनुसन्धान सीबीआईले गरिरहेको थियो।

२४ फेब्रुअरीमा भएको उमेश पालको हत्यामा पनि अतीक अहमद मुख्य अभियुक्त हुन्। उमेश पाल राजु पाल हत्या प्रकरणमा प्रारम्भिक साक्षी थिए, तर पछि मुद्दाको अनुसन्धान गरिरहेको सीबीआईले उनलाई साक्षी बनाएन।

मार्च २८ मा प्रयागराजको एमपीएमएलए अदालतले अतीक अहमदलाई २००६ मा उमेश पालको अपहरण गरेकोमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको थियो। -बीबीसी हिन्दीबाट भावानुवाद

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर